diwpawali diwpawali

सुपर ओभरमा बंगालादेशलाई वेस्ट-इन्डिजले हरायो

बुधबार, कात्तिक ५, २०८२

काठमाडौं: वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा रोमाञ्चक जित हासिल गरेको छ।

मिरपुरस्थित शेर बंगाल रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले घरेलु टोली बंगलादेशलाई सुपर ओभरमा पराजित गर्दै सिरिज १–१ को बराबरीमा ल्याएको हो।

बंगलादेशले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउँदा वेस्ट इन्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २१३ रन बनायो। खेल बराबरी भएपछि सुपर ओभरमा प्रवेश गर्‍यो।

सुपर ओभरमा वेस्ट इन्डिजले १० रन बनाएकोमा बंगलादेशले जवाफमा ९ रन मात्र बनाउन सकेपछि पाहुना टोली विजयी बन्यो।

वेस्ट इन्डिजका कप्तान साइ होपले अविजित ५३ रनको योगदान दिए। यस्तै केसी कार्टीले ३५, एलिक एथानाजेले २८ र अकिल होसेनले १६ रन जोडे।
बलिङतर्फ बंगलादेशका रिशाद होसेनले तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।

यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाएर २१३ रन बनाएको थियो। टोलीका लागि सौम्य सरकारले ४५, रिशाद होसेनले अविजित ३९ र कप्तान मेहदी हसन मिराजले अविजित ३२ रनको योगदान दिए।

वेस्ट इन्डिजका गुडाकेश मोतीले तीन विकेट लिए भने अकिल होसेन र एलिक एथानाजेले समान दुई–दुई विकेट झारे।

सिरिजको निर्णायक तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिनेछ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्