सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपालले अपराजित रहँदै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि हात पारेको छ। शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मका सबै खेल जितेर उपाधि जितेको हो।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सीमित भयो। यस जितसँगै नेपालले ११ वर्षपछि आईसीसी प्रतियोगितामा उपाधि जित्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विकास नियमावली २०७९ अनुसार, उपाधि जितेका प्रत्येक खेलाडीलाई जनही १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। नियमावलीअनुसार विश्वकप छनोटमा पहिलो स्थान हासिल गर्ने टोलीलाई सो रकम दिने व्यवस्था गरिएको हो।
नेपालले यसअघि सन् २०१४ मा आईसीसी डिभिजन फोरको उपाधि जितेको थियो। त्यसपछि लामो अन्तरालपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको हो। सन् २०२३ को विश्वकप छनोटमा नेपाल फाइनलमा ओमानसँग सुपर ओभरमा पराजित भएको थियो।
यस पटक नेपालले समूह चरणमा कुवेत र जापानलाई हराउँदै सुपर सिक्समा प्रवेश गरेको थियो। सुपर सिक्समा नेपालले यूएईमाथि १ रनले र ओमानमाथि ३८ रनले जित निकाल्दै अपराजित रहँदै उपाधि चुमेको हो।
छनोटको शीर्ष तीन टोली— नेपाल, यूएई र ओमान—ले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा हुने टी–२० विश्वकपका लागि योग्यता प्राप्त गरेका छन्।