T10 T10

विश्वकप छनाैटमा नेपालल आज कतारसङ्ग खेल्दै

सोमबार, असोज २७, २०८२
Global

काठमाडौं :आइसिसी टी–२० विश्वकप एसिया एन्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज (सोमबार) राति कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा राति ८:४५ बजे सुरु हुनेछ।

यो खेलले नेपाली क्रिकेटप्रेमीलाई सन् २०१९ जुन २३ को याद ताजा गराउनेछ, जब नेपालले कतारविरुद्ध अकल्पनीय हार व्यहोरेको थियो। त्यस खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले चार बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गरेको थियो।

तर त्यसपछि भएका दुई खेलमा भने नेपाल विजयी भएको छ — गत वर्षको एसिसी प्रिमियर कपमा ३२ रनले र यस वर्ष हङकङमा भएको चार देशीय सिरिजमा ८ विकेटले।

हाल नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ। समूह चरणमा नेपालले कुवेतलाई ५८ रनले र जापानलाई ५ विकेटले हराएको थियो भने सुपर सिक्सको पहिलो खेलमा युएईविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको छ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी का अनुसार टोली कुनै पनि टिमलाई कमजोर ठान्ने गल्ती गर्नेछैन। उनले भने, “सबै खेल प्रतिस्पर्धात्मक हुनेछन्, हाम्रो लक्ष्य सबै खेल जित्दै विश्वकपमा पुग्नु हो।”

यता मिर्जा मोहम्मद बेगको कप्तानीमा रहेको कतारले तीन खेलमा दुई हार र एक जित निकालेको छ। समूह चरणमा कतारले मलेसियालाई ८ विकेटले हराएको थियो भने युएई र ओमानसँग हार बेहोरेको छ।

नेपाल आजको खेलमा उच्च लय कायम राख्दै लगातार चौथो जित निकाल्ने लक्ष्यमा छ भने कतार विश्वकपमा छनोट हुने सम्भावना जिवित राख्ने प्रयासमा रहनेछ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्