सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)लाई १ रनले हराउँदै रोमाञ्चक जित निकालेको छ।
यो जितसँगै नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्ने दिशातर्फ नजिकिएको छ। नेपाल र यूएई दुवैका लागि यो खेल निर्णायक मानिएको थियो, जसमा नेपाल विजयी बनेको हो।
आइतबार ओमानको अल अमेरतस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनायो। जवाफमा यूएईले अन्तिम ओभरसम्म कडा चुनौती दिएको भए पनि २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा सीमित रह्यो।
नेपालका लागि बलिङमा दिपेन्द्र सिंह ऐरी सर्वाधिक चम्किए। उनले ३ विकेट लिँदै खेलको अन्तिम ओभरमा निर्णायक भूमिका खेले। त्यस्तै सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक–एक विकेट हात पारे।
यूएईका अलिसान सराफुले ४० बलमा ३ चौका र ५ छक्कासहित ५८ रनको प्रभावशाली इनिङ खेले। उनले दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भएर आउट हुनुपर्यो। ध्रुव परासरले ३२ रन जोडे भने जोनाथन फीजी १९ रनमा आउट भए।
१९औँ ओभरको अन्तिम बलमा परासरले नन्दन यादवलाई छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक बनाएका थिए। त्यसपछि अन्तिम ओभरमा यूएईलाई जितका लागि ८ रन आवश्यक थियो। तेस्रो बलमा सराफले ऐरीलाई छक्का हानेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो, तर चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच गरेपछि नेपालको पक्ष बलियो बन्यो। अन्तिम क्षणमा हाइडर अली र जैद अली रन आउट भएपछि नेपाल १ रनले विजयी भयो।
नेपालका ब्याट्सम्यानले स्थिर सुरुवात गरेका थिए। ओपनर जोडी आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरे। भुर्तेलले २६ बलमा २ चौका र २ छक्का सहित २८ रन बनाए भने आशिफले ४७ बलमा ५१ रन जोड्दै अर्धशतक प्रहार गरे। कप्तान रोहित पौडेल २० रनमा आउट भए।
मध्यक्रममा दिपेन्द्र ऐरी १ रनमै पवेलियन फर्किए। गुल्सन झाले ५ बलमा २ चौका र १ छक्कासहित १४ रनको छिटो पारी खेले। कुशल मल्ल १० रनमा आउट भए भने सन्दीप जोरा र सोमपाल कामी क्रमशः ४ र ६ रनमा अविजित रहे।
यूएईका हर्सित कौशिक, ध्रुव परासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक–एक विकेट लिए।
यो जितपछि नेपाल सुपर सिक्सको अंकतालिकामा चार अंकसहित दोस्रो स्थानमा छ। समान चार अंकसहित ओमान नेट रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा रहेको छ। यूएई दुई अंकका साथ तेस्रो स्थानमा छ।
नेपालको यो रोमाञ्चक जितले टोलीको मनोबल उच्च बनाएको छ र विश्वकपमा स्थान बनाउनका लागि अब अर्को कदम मात्र बाँकी रहेको संकेत दिएको छ।