सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गतको सुपर सिक्स चरणमा नेपाल आज चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग आमनेसामने हुँदैछ।
खेल ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेबाट सुरु हुनेछ।
समूह ‘बी’को विजेताका रूपमा सुपर सिक्समा पुगेको नेपालले समूह चरणमा कुवेत र जापानलाई हराएको थियो। दुई अंकका साथ नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै विश्वकपमा पुग्ने लक्ष्य बलियो बनाउन चाहन्छ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, र सोमपाल कामीजस्ता खेलाडी रहने छन्। पछिल्लो खेलमा आसिफले ३८ रन बनाएका थिए भने गुलशनले अविजित २८ रनसँगै दुई विकेट लिएका थिए।
त्यसैगरी, समूह ‘ए’को विजेता बनेर सुपर सिक्समा प्रवेश गरेको यूएईले कतार र मलेसियालाई हराएको थियो। दुई अंक रहेको यूएई पनि नेपालमाथि जित निकाल्दै विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यमा छ।
मोहम्मद वसीमको कप्तानीमा रहेको यूएई टोलीमा अलिशान शराफु, हर्षित कौशिक, हैदर अली, र ध्रुव परासरजस्ता खेलाडी समावेश छन्। मलेसियाविरुद्धको पछिल्लो खेलमा शराफुले ३४ रन प्रहार गरेका थिए।
टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्म नेपाल र यूएईबीच १० खेल खेलेका छन्, जसमा दुवै टोलीले समान पाँच–पाँच खेलमा जित हात पारेका छन्।