सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी टी–२० विश्वकप छनोट प्रतियोगिता भोलीबाट ओमानमा सुरु हुने भएको छ ।
एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले भोली कुवेतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो । यी दुई टोली बीचको खेल नेपाली समय अनुसार भोली राती पौने ९ बजे हुनेछ । युएईमा वेस्ट इन्डिजसँगको सिरिज जित्दै ओमान पुगेको नेपाली टोलीले त्यहाँ कतारसँग दुई अभ्यास खेल जितेपछि उच्च मनोबलमा छ । छ
नोटको समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ । नेपालले कुवेतसँग विभिन्न प्रतियोगिता खेल्दै मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ । नेपालको एउटै लक्ष्य विश्वकपमा छनोट हुनु रहेको कप्तान रोहित पौडेलले बताए ।नेपालले यसअघि दुई पटक विश्वकप खेलिसकेको छ ।
यसपटक छनौट भएमा नेपालले तेस्रो पटक विश्वकप खेल्नेछ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशतथा सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेको थियो । भोली देखि अक्टोबर १७ तारिखसम्म हुने एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोली सहभागि हुनेछन् । सहभागी नौ टोली मध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।
सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
सन् २०२६ मा भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ । हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसक्दा एसिया महादेशबाट तीन टोलीको टुङ्गो लाग्न बाँकी छ ।