सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टी–२० शृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजसामु १७४ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको शारजहाँ क्रिकेट रंगशालामा टस जितेर पहिले व्याटिङ थालेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो । नेपालकालागि आशिफ शेख र सन्दीप जोराले बिस्फोटक ब्याटिङ गरे ।
कुनै बेला कुशल भुर्तेल २ तथा कप्तान रोहित पौडेल ब्यक्तिगत ३ रनमा आउट भएपछि नेपाल दबाबमा आएको थियो । धरासायी बनेको नेपालको ब्याटिङ लाईन शेख र जोराले उकासे । शेखले नटआउट रहँदै सर्वाधिक ६८ तथा जोराले ६३ रन जोडे । आदिल आलमले ११, कुशल मल्लले ७ तथा गुल्शन झाले ६ रन जोडे । नेपाल लागतार दोस्रो जितसहित शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले १९ रनको ऐतिहासिक जित निकालेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यलाई पराजित गरेको हो । आजको खेल जितेमा नेपालले पहिलो पटक पूर्ण सदस्य राष्ट्रविरुद्धको द्विपक्षीय शृंखला आफ्नो पक्षमा पर्ने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ ।
यता वेस्ट इन्डिज पनि जित निकाल्दै शृंखला बराबरी गर्ने योजनाका साथ मैदानमा उत्रिएको छ । नेपाली टोलीमा आज एक परिवर्तन भएको छ । पहिलो खेल खेलेका नन्दन यादवको स्थानमा मोहम्मद आदिल आलमले मौका पाएका छन् ।नेपालले पछिल्ला केही महिनामा टी–२० क्रिकेटमा उल्लेख्य प्रगति गर्दै आएको छ, तर निर्णायक क्षणमा अस्थिरता देखाउने बानी पनि छ । वेस्ट इन्डिजको अझै लय समात्न सकेको छैन ।
वेस्ट इन्डिजले पछिल्ला पाँच टी–२० मध्ये एक मात्र जित हात परेको छ ।