सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपालले सारजाह क्रिकेट रंगशालामा भएको पहिलो टी–२० आईमा वेष्टइण्डिजलाई १ सय ४९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन जोड्यो।
कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए भने कुशल मल्लले ३० र गुलशन झाले २२ रनको योगदान दिए। तर नेपालको सुरुवात कमजोर रह्यो। ओपनर कुशल भुर्तेल ६ रनमै स्टम्पिङ आउट भए भने अर्का ओपनर आसिफ शेख पनि ३ रनमा क्याच आउट भए।
३.१ ओभरमै १२–२ को अवस्थामा पुगेको नेपाललाई कुशल मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्दै उकासे। मल्ल २१ बलमा ३० रन बनाएर आउट भए भने पौडेल ३५ बलमा ३८ रनमा पavilियन फर्किए।
गुलशन झाले अन्त्यतिर आक्रामक खेल देखाए तर २२ रनमै आउट भए। दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे भने अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन्।
बलिङतर्फ वेष्टइण्डिजका जेसन होल्डर सर्वाधिक प्रभावशाली रहे। उनले ४ ओभरमा २० रन दिँदै ४ विकेट लिए। नविन बिडैसीले ३ र कप्तान अकिल हुसेनले १ विकेट हात पारे।
नेपालले पावरप्लेमा ३४ रन मात्र बनाएको थियो। बीचका ओभरमा ७४ रन निकाल्दै पारी उकासे तर डेथ ओभरमा नियमित अन्तरालमा विकेट गुमाउँदा स्कोर १४८ रनमै सीमित रह्यो।
नेपालले आजको खेलमा स्पिनर सन्दीप लामिछानेलाई टोलीमा समावेश गरेन। तीन खेलको सिरिजअन्तर्गत अब दोस्रो खेल सोमबार र तेस्रो मंगलबार सारजाहमै हुनेछ। यही सिरिज नेपालका लागि आगामी ओमानमा हुने टी–२० विश्वकप छनोटपूर्वको तयारीको अवसर हो।