diwpawali diwpawali

एसिया कपको उपाधिकालागि आज भारत र पाकिस्तान भिड्दै 

आइतबार, असोज १२, २०८२

काठमाडौँ :एशिया कप सन् २०२५ को उपाधि छिनोफानो आज हुँदैछ ।

उपाधिकालागि एसियाका दुई ठूला पावर हाउस भारत र पाकिस्तान भिड्न लागेका हुन् । फाइनल खेल नेपाली समयअनुसार राती सवा ८ बजे युएईको सारजाहा क्रिकेट मैदानमा हुनेछ ।

आजको ऐतिहासिक भिडन्त उपाधिको लागि मात्र नभई क्रिकेट इतिहासमा एउटा नयाँ अध्याय लेख्ने अवसर पनि हो । भारतले एशिया कप अहिलेसम्म ८ पटक जितेको छ भने पाकिस्तानले २ पटक मात्रै जितेको छ । तर यसपटकको भिडन्तको महत्व यति धेरै छ कि क्रिकेट विश्लेषकहरू र पूर्व खेलाडीहरू पनि यसलाई सामान्य रूपमा हेर्न सकिरहेका छैनन् ।

पाकिस्तानी टोलीका हेड कोच माइक हेसनले भने अनुसार, भारतविरुद्ध अब मानसिक अवरोध छैन। “हामी पछिल्लो खेलमा भारतसँग बराबरीमा थियौं। भारतले जित्न हामीलाई प्रेशरमा राख्नुपर्‍यो,“ उनले भने।
वरिष्ठ खेल विश्लेषक अयाजÞ मेमन भन्छन्, “यो फाइनल हो!“ त्यसैले भारत जति बलियो देखिए पनि पाकिस्तानलाई कम आँक्न मिल्दैन। “क्रिकेट पिचमा जितिन्छ, कागजमा होइन,“ उनले भनेका छन् । 

पाकिस्तान अप्रत्याशित टिम हो
वरिष्ठ पत्रकार धर्मेन्द्र पन्तका अनुसार, पाकिस्तान एक ‘अनप्रेडिक्टेबल’ (अप्रत्याशित) टिम हो। कहिले कमजोर त कहिले जबरजस्त प्रदर्शन। यस्ता टिमहरू फाइनलमा खतरनाक हुन सक्छन् उनी भन्छन् । 
बलिङमा पाकिस्तानको गहिरो धार
हैरिस रऊफ र शाहीन अफरीदीले पछिल्लो खेलहरूमा गजबको बलिङ गरेका छन्। अफरीदीले आफ्नो निशाना फेला पारेका छन् । यदि उनले भारतीय टप अर्डरलाई तुरुन्तै दबाबमा राखे, भारतका लागि स्थिति जटिल बन्न सक्छ । 
भारत बलियो टिम हो, तर...
अभिषेक शर्मा र शुभमन गिलले भारतलाई राम्रा सुरुवातहरू दिएका छन्। तर, मध्यक्रमको परीक्षा अझै पूर्ण भएको छैन। यदि टप अर्डर चाँडै आउट भए, त्यसपछि दबाब कसले थेग्ने?
सूर्यकुमार यादवमाथि भर
कप्तान सूर्यकुमार यादवबाट अपेक्षा उच्च छ। उनको कप्तानी राम्रै देखिएको छ । तर ब्याटिङमा निरन्तरता छैन। मिडल अर्डरमा उनी टिके भने भारतलाई फाइदा पुग्नेछ।

समस्याग्रस्त क्याचिङ
भारतले पछिल्ला केही खेलमा धेरै क्याच छोडेको छ। जुन कुरा फाइनलमा घातक बन्न सक्छ। “क्याच जिताउने वा हराउने कारक हुन सक्छ,“ विश्लेषकहरू भन्छन्।

दबाब कसमा?
भारत टी–२० च्याम्पियन भएकाले दबाब पनि उसैमा बढी छ। यदि भारत हार्छ भने, त्यो ठूलो झट्का हुनेछ। तर पाकिस्तानले जित्यो भने, त्यो ऐतिहासिक जित बन्नेछ।

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्