diwpawali diwpawali

नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक ट्वान्टी–२० शृंखला आजदेखि सुरु

शनिबार, असोज ११, २०८२

काठमाडौँ:नेपाल र वेस्ट इन्डिजबीचको बहुप्रतीक्षित ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेल आज (शनिबार) युएईको शारजाह क्रिकेट मैदानमा हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे सुरु हुनेछ।

वेस्ट इन्डिजले शृंखलाका लागि अनुभवी खेलाडीहरूलाई विश्राम दिँदै ५ नयाँ खेलाडी समावेश गरेको छ। अकिम अगस्टे, नवीन विदैसी, जिना मोतारा, रामोन सिमोन्ड्स र आमिर जाङ्गु नयाँ अनुहारका रूपमा टोलीमा परेका छन्। कप्तानको जिम्मेवारी अकिल हुसेनलाई दिइएको छ भने टोलीमा जेसन होल्डर, कायल मायर्स, र फाबियन एलनजस्ता अनुभवी खेलाडीहरू पनि रहेका छन्।

नेपालले कप्तान रोहित पौडेलको नेतृत्वमा सशक्त टोली मैदानमा उतार्नेछ। लामो समयपछि आदिल आलम अन्सारी र सन्दीप जोरा टोलीमा फर्किएका छन्। मातृशोकका कारण अघिल्लो शृंखला गुमाएका ललितनारायण राजवंशी पनि पुनः टोलीमा समावेश भएका छन्।

यो शृंखला नेपालका लागि विशेष छ, किनभने नेपाल पहिलो पटक कुनै आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय ट्वान्टी–२० शृंखला खेल्दैछ। वेस्ट इन्डिज ट्वान्टी–२० मा नेपालका लागि छैटौं टेस्ट मान्यताप्राप्त प्रतिद्वन्द्वी हो।

सन् २०२५ मा वेस्ट इन्डिजले १२ ट्वान्टी–२० खेलमध्ये मात्र २ मा जित निकालेको छ, जसले नेपाललाई ऐतिहासिक जितको सम्भावना प्रदान गरेको छ। नेपालले हालसम्म पूर्ण सदस्य राष्ट्रसँग खेलेका सबै ८ ट्वान्टी–२० खेल गुमाएको छ। तर सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँगको १ रनको हारले नेपालको प्रतिस्पर्धात्मक क्षमता देखाइसकेको छ।

शृंखलाको तयारीका क्रममा नेपाली टोलीले अस्ट्रेलिया भ्रमण र भारतको नेसनल क्रिकेट एकेडेमीमा विशेष प्रशिक्षण लिएको थियो। कप्तान रोहित पौडेल शृंखलाप्रति उत्साहित छन् र उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ मैदान उत्रने बताएका छन्।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्