diwpawali diwpawali

एसियाकपको फाइनल पुग्ने पाकिस्तानको सम्भावना कायमै

बुधबार, असोज ८, २०८२

काठमाडौँ :पाकिस्तानले एसिया कप क्रिकेटको फाइनल पुग्ने आशा जीवित राखेको छ ।

सुपर फोर चरणमा श्रीलंकामाथि ५ विकेटको महत्वपूर्ण जित निकालेसंगै पाकिस्तानको फाइनल सम्भावना बलियो बनेको हो । जितकालागि पाएको १३४ रनको लक्ष्य पाकिस्तानले १८ ओभरमा पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद नवाज र हुसन तालत मुख्य नायक बने।

नवाजले २४ बलमा ३ चौका र ३ छक्का सहित ३८ रन बनाए भने तालत ३० बलमा ४ चौकासहित अविजित ३२ रनमा रहे। दुबैले पाँचौं विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।यसअघि शहिबजादा फरानले आक्रामक २४ रन बनाए भने फखर जमान (१७), मोहम्मद हरिस (१३), सैम अयुब (२), र कप्तान सलमान अली अघा (५) रनमा आउट भए।
श्रीलंकाको मध्यम स्कोर
टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। कामिन्दु मेन्डिसले ४४ बलमा ५० रन बनाए भने कप्तान चरिथ असलंका (२०), वानिन्दु हसरंगा (१५), र चामिका करुणारत्ने (१७) ले केही योगदान दिए।
पाकिस्तानका बलरहरू प्रभावशाली रहे। शाहिन शाह अफ्रिदीले ३ विकेट लिए भने हरिस रौफ र हुसन तालतले २÷२ तथा अब्रार अहमदले १ विकेट लिए।
अंकतालिका र फाइनल समीकरण
पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।श्रीलंका पनि बंगलादेशसँग हारको सामना गरिसकेको छ।
अब पाकिस्तान बिहीबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ भने श्रीलंका शुक्रबार भारतसँग भिड्नेछ। यी खेलहरूको नतिजाले सुपर फोरको अन्तिम समीकरण तय गर्नेछ।
पछिल्लो समीकरण
पाकिस्तानको जितले प्रतियोगिता थप रोमाञ्चक बनेको छ। अब सबै टिमको एक–एक जित तथा हार भएपछि अन्तिम खेलहरू निर्णायक हुनेछन् । फाइनल पुग्न अब टिमहरूले रनरेटसँगै जित पनि सुनिश्चित गर्नुपर्नेछ।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १४:१६
प्रतिक्रिया दिनुहोस्