सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अमेरिकी क्रिकेट बोर्डलाई सदस्यताबाट हटाएको छ। पटक–पटक संगठनात्मक सुधारका लागि दिइएका निर्देशन पालना नगरेपछि बोर्डको सदस्यता खारेज गरिएको हो।
आइसिसी बोर्डको हालै सम्पन्न बैठकले अमेरिकी बोर्डमाथि कडा निर्णय लिँदै निलम्बनको घोषणा गरेको हो। आइसिसीले शासन प्रणाली सुधार गर्न नसकेको, अमेरिकी ओलम्पिक तथा पारा-ओलम्पिक समितिबाट मान्यता लिन चासो नदेखाएको, र विश्व क्रिकेटको छविमा नकारात्मक असर पार्ने गतिविधिहरू गरेको आरोप लगाएको छ।
यद्यपि, बोर्ड निलम्बनमा परे पनि अमेरिकी राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ। टोलीको व्यवस्थापन अब आइसिसी वा त्यसले तोकेको प्रतिनिधिले गर्ने व्यवस्था मिलाइनेछ।
आइसिसीले अब ‘नर्मलाइजेसन कमिटी’ गठन गरी अमेरिकी क्रिकेटमा आवश्यक सुधारहरू लागू गराउने योजना बनाएको छ। सुधारको प्रगति अनुगमन गरी भविष्यमा पुनः सदस्यता दिने वा नगर्ने निर्णय गरिने बताइएको छ।
यसअघि सन् २०२४ मा वार्षिक साधारण सभामार्फत अमेरिकालाई 'अन नोटिस' राखिएको थियो। तर, सुधारको अपेक्षित कदम नचालिएपछि अहिले बोर्डलाई औपचारिक रूपमा सदस्यताबाट हटाइएको हो।
नेपाल क्रिकेट संघ (क्यान) पनि सन् २०१६ देखि २०१९ सम्म यस्तै प्रकृयाबाट आइसिसीको निलम्बनमा परेको थियो। त्यतिबेला पनि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निरन्तरता पाएको थियो। अमेरिकी क्रिकेटले पनि अब सोही मोडेलमा अघि बढ्नुपर्नेछ।