diwpawali diwpawali

८ सय खेलाडीको सूचीमा अश्विन सर्वाधिक महँगो

मंगलबार, असोज ७, २०८२

काठमाडौं :पूर्व भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले आगामी अक्टोबर १ मा दुबईमा हुने पहिलो संस्करणको आईएलटी–२० अक्सनका लागि आफूलाई सबैभन्दा महँगो मूल्यमा राखेका छन्।

३९ वर्षीय अश्विनले आफ्नो बेस प्राइस १ लाख २० हजार अमेरिकी डलर तोकेका छन्, जुन हालसम्म अक्सन सूचीमा रहेका सबै खेलाडीमध्ये उच्चतम हो। आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटबाट अवकाश लिएका उनले पूरा सिजन खेल्न सक्ने बताएका छन्। यदि टोलीले छनोट गरेमा आईएलटी–२० उनको पहिलो विदेशी टी–२० लिग हुनेछ।

अक्सनमा हालसम्म करिब ८ सय खेलाडी सूचीकृत छन्, जसमा २४ जना भारतीय खेलाडी पर्छन्। फ्रेन्चाइजहरूले पठाउने इच्छा सूचीका आधारमा अन्तिम सूची यसै साताभित्र सार्वजनिक हुनेछ।

आईएलटी–२० को चौथो संस्करण डिसेम्बर २ देखि जनवरी ४ सम्म हुने तय भएको छ। यसअघि नै टोलीहरूले आफ्ना खेलाडी कायम राख्ने र प्रत्यक्ष साइनिङ गर्ने प्रक्रिया पूरा गरिसकेका छन्।

अक्सन नियमअनुसार प्रत्येक फ्रेन्चाइजले २ मिलियन अमेरिकी डलरसम्म खर्च गर्न पाउनेछन् भने कम्तीमा १.५ मिलियन खर्च गर्नैपर्नेछ। साथै, अतिरिक्त २.५ लाख डलर तिरेर दुई जना वाइल्डकार्ड खेलाडी अक्सन बाहिरबाट भर्न सकिने व्यवस्था छ।

टोली संरचनाअनुसार प्रत्येक स्क्वाडमा १९ देखि २१ खेलाडी हुनेछन्। तीमध्ये ११ जना पूर्ण सदस्य राष्ट्रका, ४ जना युएईका, १ जना कुवेतका, १ जना साउदी अरबका र २ जना अन्य एसोसिएट राष्ट्रका खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ।

यस्तै, टोलीहरूले एउटै युएई खेलाडीलाई ‘राइट टु म्याच’ कार्ड प्रयोग गरी पुनः आफ्नो टिममा ल्याउन सक्नेछन्।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्