भियतनामविरुद्ध नेपालले प्रारम्भिक टोली घोषणा

आइतबार, असोज ५, २०८२

काठमाडौँ :एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत भियतनामसँग हुने दुई खेलका लागि नेपालले प्रारम्भिक टोली सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक म्याट रसले आज ३३ सदस्यीय टोली घोषणा गरेका हुन्। यसअघि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेका अधिकांश खेलाडी कायम राख्दै उनले थप १२ खेलाडीलाई बोलाएका छन्।
गोलकिपर अञ्जल श्रेष्ठ, विशाल सुनार र समीत श्रेष्ठ फेरि टोलीमा फर्किएका छन् भने रक्षापंक्तिमा विमल पाण्डे, सनीस श्रेष्ठ र सुमित श्रेष्ठको पुनरागमन भएको छ। त्यस्तै, युवा डिफेन्डर दीपेन्द्र बिक दोस्रो पटक प्रारम्भिक सूचीमा परेका छन् ।

केही हप्ता अघि सम्पन्न यू–२३ एसियन कप छनोटमा खेलाएका कप्तान आयुष घलान, फरवार्ड निराजन धामी, मिडफिल्डर दीपेश गुरुङ, कृतिशरत्न छुन्जु, सन्तोष खत्री र डिफेन्डर सुमित श्रेष्ठ पनि बन्द प्रशिक्षणमा समावेश भएका छन्।

तर, बंगलादेशविरुद्ध मैदानमा देखिएका मिडफिल्डर सृजनराज गौतम र रक्षापंक्तिका रन्दीप पौडललाई यसपटक भने समेटिएको छैन।
नेपालले समूह ‘एफ’ अन्तर्गत अक्टोबर ९ र १४ मा भियतनामसँग पहिलो र दोस्रो लेग खेल्ने तालिका छ। दोस्रो लेग दशरथ रंगशालामा हुने अपेक्षा गरिएको भए पनि एएफसीले पूर्वाधार अपुग भन्दै खेल स्थल परिवर्तन गरेको छ।
यसअघि तेस्रो चरणको खेलमा नेपाल लाओससँग २–१ ले स्तब्ध बनेको थियो भने मलेसियासँग २–० को हार व्यहोरेको थियो। लगातार दुई पराजयपछि नेपाल हाल समूहको पुछारमा छ। समूह विजेता टोली मात्र २०२७ मा साउदी अरेबियामा हुने एसियन कपको टिकट पाउने भएकाले नेपालको सम्भावना निकै कमजोर बनेको छ।

प्रारम्भिक टोलीमा परेका खेलाडीले असोज ६ (सेप्टेम्बर २३) देखि एन्फाको समन्वयमा बन्द प्रशिक्षण सुरु गर्ने कार्यक्रम रहेको छ।
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्