एसिया कप

भारतले पाकिस्तानलाई हरायाे

सोमबार, भदौ ३०, २०८२

काठमाडौं :भारत एसीसी टी-२० एसिया कपको सुपर–४ चरण नजिक पुगेको छ । लगातार दोस्रो जित हात पार्दै उसले समूह चरणमै आफ्नो बलियो पकड बनाएको हो ।

दुबईमा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्‍यो । १ सय २८ रनको लक्ष्य भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान सूर्यकुमार यादवले ३७ बलमा ४७ रन बनाए भने शिबम दुबे १० रनमा अविजित रहे । ओपनर अभिषेक शर्माले ३१, शुभमन गिलले १० र तिलक वर्माले ३१ रन जोडे । पाकिस्तानका सैम अयुबले ४ ओभरमा ३५ रन खर्चेर सबै ३ विकेट झारे ।

यसअघि, टस जितेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रनमा सीमित भयो । सहिबजादा फहरानले ४० रन बनाए भने तल्लोक्रमका शाहिन शाह अफ्रिदीले १६ बलमा ४ छक्का प्रहार गर्दै अविजित ३३ रन जोडे । तर अन्य ब्याटरहरू खासै टिक्न सकेनन् ।

भारतका बलर कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए । अक्षर पटेल र जस्प्रित बुमराहले २-२ विकेट झारे भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट हात पारे ।

यो जितसँगै भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब उसले अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ । पाकिस्तानले भने सुपर–४ मा पुग्न युएईविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाब छ ।

समूह ‘बी’ मा अफगानिस्तान नेटरनरेटका आधारमा शीर्ष स्थानमा छ भने श्रीलंका दोस्रो, बंगलादेश तेस्रो र हङकङ अन्तिम स्थानमा छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर–४ चरणमा स्थान बनाउनेछन् ।

गतवर्षको प्रिमियर कपमा चौथो बनेको नेपाल यसपटक एसिया कप खेल्न नपाएको हो । विजेता युएई, उपविजेता ओमान र तेस्रो हङकङले भने प्रत्यक्ष प्रवेश पाए ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०७:४२
प्रतिक्रिया दिनुहोस्