एसियाकप

बंगालादेश र श्रीलंका भिड्दै

शनिबार, भदौ २८, २०८२

काठमाडौँ :एसिया कप टी–२० क्रिकेटमा आज बंगालादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोली बीचको खेल नेपाली समय अनुसार राती ८:१५ बजे युएईको आबुधावीमा हुनेछ । खेलमा बंगालादेश लगातार दोस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा हङकङविरुद्ध ७ विकेटको जित निकालेको बंगालादेश उच्च लयमा छ । प्रतियोगितामा पहिलो खेल खेल्न लागेको श्रीलंका पनि विजयी सुरुवात गर्न चाहान्छ । प्रतियोगितामा अहिलेसम्म दुई देशबीच १७ पटक भिडन्त भएको छ। १५ खेल वनडेमा र २ खेल टी–२० मा खेलेका छन्। वनडेमा श्रीलंका १३ खेल जित्न सफल भएको छ भने बांग्लादेशले केवल २ खेल जितेको छ। टी–२० मा भने दुवैको रेकर्ड बराबरी—१–१ छ ।
सन् २००७ देखि २०२५ सम्म टी–२० अन्तर्राष्ट्रियमा पनि श्रीलंका अघि छ। दुवैबीच भएका २० खेलमध्ये श्रीलंकाले १२ जित्दा बांग्लादेशले ८ जितेको छ ।
श्रीलंका बलियो टोलीका साथ मैदानमा उत्रिँदैछ। स्पिन विभागमा वानिन्दु हसरंगा, महिश तीक्षणा र दुनिथ वेल्लालागेजस्ता बलर छन्। हसरंगाले मात्रै पछिल्लो वल्र्ड कपपछि २१ विकेट लिएका छन्। ब्याटिङतर्फ पथुम निसांका, कुसल मेंडिस र कप्तान चरिथ असलंका राम्रो लयमा छन् ।

बांग्लादेशको बलिङ आक्रमणमा तस्किन अहमद, मुस्तफिजुर रहमान र शोरिफुल इस्लाम छन्। तस्किनले पछिल्लो वल्र्ड कपपछि २२ विकेट लिएका छन्। ब्याटिङतर्फ तन्जिद हसन र कप्तान लिटन दासले समान ४२५ रन बनाइसकेका छन्।

ध्यान दिन लायक तथ्य के हो भने, गत जुलाईमा खेलेको टी–२० सिरिजमा बांग्लादेशले श्रीलंकालाई २–१ ले पराजित गरेको थियो। जारी प्रतियोगितामा समुह 'ए' मा रहेको भारत र पाकिस्तानले जित निकाल्दा ओमान र युएईले जित निकाल्न सकेका छैनन् ।

समुह 'बी 'मा अफगानिस्तान र बंगालादेशले पनि विजयी सुरुवात गर्दा हङकङले खेलेका दुबै खेलमा हार ब्यहोरेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्