T10 T10

प्रीति राईको गाेलमा इत्तिहाद क्लबको प्रभावशाली जित,

आइतबार, भदौ १५, २०८२
Global

मलेसिया:एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को प्रारम्भिक चरणमा नेपाली मिडफिल्डर प्रीति राई आबद्ध जोर्डानको इत्तिहाद क्लबले शानदार जित निकालेको छ। आइतबार समूह ‘सी’ को अन्तिम खेलमा इत्तिहादले मलेसियाको केलाना युनाइटेडलाई ४–० ले पराजित गर्‍यो।

इत्तिहादका लागि पहिलो गोल २३औँ मिनेटमा रौजबाहन फ्राइजले गरिन्। उनले इनेस अलजामिनको पासलाई सदुपयोग गर्दै विपक्षी गोलकिपर नुरदियाना रोस्तामलाई हराइन्। खेलको ३१औँ मिनेटमा केलानाकी शलिका अउरेलियाले आत्मघाती गोल गर्दा इत्तिहादले २–० को अग्रता लियो।

दोस्रो हाफमा आक्रामक खेललाई निरन्तरता दिँदै इत्तिहादले ६८औँ मिनेटमा प्रीति राईको गोलमार्फत ३–० को अग्रता लियो। सिडालिया कुटाले दिएको क्रसलाई प्रीतिले बक्सभित्रै भल्ली प्रहार गर्दै जाली चुमाएकी थिइन्।

खेलको अन्तिमतिर प्रीतिमाथि शलिकाले गरेको फाउलका कारण पाएको पेनाल्टीलाई ८७औँ मिनेटमा सिडालिया कुटाले गोलमा परिणत गर्दै फराकिलो ४–० को जित सुनिश्चित गरिन्।

यो जितसँगै इत्तिहाद क्लब समूह ‘सी’ मा दोस्रो स्थानमा रह्यो। अब उनीहरू अन्य समूहको नतिजा हेरेर ‘सर्वश्रेष्ठ दोस्रो’ को आधारमा नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राख्नेछन्।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्