सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :टी–२० श्रृङ्खलाअन्तर्गत नेपाल ‘ए’ र भारतको आसामबीचको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।
गुवाहाटीमा आज भएको खेलमा नेपाल ‘ए’ आसामसँग १५ रनले पराजित भयो । पाँच खेलको श्रृङ्खलामा नेपाल अहिले १–० ले पछि परेको छ । दोस्रो खेल आगामी शुक्रबार हुनेछ ।
आसामले प्रस्तुत गरेको १९१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ ओभरमा तीन विकेट गुमाउँदै ६४ रन जोडेको अवस्थामा वर्षाले खेल रोकिएको थियो । वर्षा कारण खेल अगाडि बढ्न नसकेपछि ‘डिएलएस’ प्रणालीअनुसार आसामलाई विजेता घोषणा गरिएको हो ।
खेल रोकिनु अघिसम्म नेपाल ‘ए’ का शुभ कंसाकार ३३ तथा सन्दीप जोरा दुई रनमा खेलिरहेका थिए । कप्तान अनिलकुमार साह २०, पवन सर्राफ ६ र इशान पाण्डे एक रनमा आउट भएका थिए । आसामका मरिनमोय दत्त र आकाश सेनगुप्ताले समान एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा आठ विकेट गुमाउँदै १९० रनको योगफल बनाएको थियो । आसामका लागि सुमित घाडीगाँउकरले ३४, अभिनव चौधरीले २६, आकाश सेनगुप्ता २४ अविजित, रोहित शेनले २४, सुमित काश्यपले २२, साहिल जैनले १७ तथा अविलश गोगोइ र आयुशमान मालाकारले समान १३ रन जोडे ।
नेपालका बलरमध्ये आकाश चन्दले तीन विकेट लिए भने सागर ढकाल र विवेककुमार यादवले दुई÷दुई तथा आदिल आलम अन्सारीले एक विकेट लिए ।