hERO hERO

अष्ट्रेलिया भ्रमण : नेपालले एकै दिन दुई टी–२० मा हार बेहोऱ्यो

बिहीबार, भदौ १२, २०८२

काठमाडौं :अष्ट्रेलियाको तयारी यात्रामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार निराशाजनक प्रदर्शन गर्‍यो। टोलीले साउथ अष्ट्रेलियासँग खेलेका लगातार दुई टी–२० अभ्यास खेलमा पराजय व्यहोरेको छ।

तेस्रो खेल : अन्तिम बलमै हार

पहिलो खेल (तेस्रो अभ्यास खेल) मा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनायो।
नेपालले दिएको १४७ रनको लक्ष्य साउथ अष्ट्रेलियाले सात विकेट गुमाउँदै रोमाञ्चक ढंगले भेट्टायो। अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा ब्राउनले चौका प्रहार गर्दै घरेलु टोलीलाई जित दिलाए।

साउथ अष्ट्रेलियाका विन्टरले ३६ रन र कप्तान हार्भीले २७ रन जोडे। नेपालका लागि सोमपाल कामीले ३, नन्दन यादवले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए।

चौथो खेल : तीन रनले चुक्यो नेपाल

दोस्रो खेल (चौथो अभ्यास खेल) मा साउथ अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १६० रन बनायो।
आर. किङले ३४ रन बनाए भने बलिङतर्फ नेपालका रुपेश सिंह, करण केसी र सहाब आलमले समान २–२ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा नेपाल ३ रनले लक्ष्य चुक्यो। १९ बलमा ३७ रन बनाएका रुपेश सिंह, २६ बलमा ३२ रन प्रहार गरेका लोकेश बल र २६ बलमा २९ रन जोडेका भिम शार्कीले प्रयास गरे पनि टोली २० ओभरमा १५७ रनमै रोकियो।

अब एकदिवसीय अभ्यास खेल

अष्ट्रेलियाली भ्रमणमा नेपालले शनिबार साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल खेल्दैछ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्