सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
नयाँ दिल्ली :भारत सरकारले अनलाइन पैसाका खेल (मनी गेमिङ) माथि नयाँ कानुन बनाएपछि भारतीय क्रिकेट संघ (बीसीसीआई) र ‘ड्रीम ११’ बीचको जर्सी प्रायोजन सम्झौता संकटमा परेको छ ।
रिपोर्टअनुसार फ्यान्टासी खेल प्लेटफर्म ‘ड्रीम ११’ ले क्रिकेट संघसँग छलफल गरिरहेको छ र करिब ३५८ करोड रुपैयाँको सम्झौताबाट बाहिरिने संकेत देखिएको छ । यो सम्झौता सन् २०२३ मा सुरु भएको हो र टी–२० विश्वकप २०२६ सम्म कायम रहने भनिएको थियो ।
तर सरकारले ल्याएको नयाँ कानुनअनुसार प्रतिबन्धित अनलाइन खेलहरूको प्रचारसमेत गर्न नपाइने भएको छ । नियम उल्लङ्घन गर्ने कम्पनीलाई तीन वर्ष कैद सजाय र एक करोड रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । त्यस्तै, यस्तो खेलको प्रचार गर्ने व्यक्तिलाई समेत दुई वर्ष कैद र ५० लाख रुपैयाँ जरिवाना हुने प्रावधान राखिएको छ ।
‘ड्रीम ११’ को मूल्याङ्कन हाल झण्डै ८ अर्ब अमेरिकी डलर बराबर रहेको छ । तर नयाँ कानुनले यसको व्यवसायिक गतिविधि नै संकटमा पारेको छ ।
क्रिकेट संघका महासचिव देवजीत सैकियाले टाइम्स अफ इन्डिया सँग कुरा गर्दै “हामी कुनै पनि काम देशको कानुनविपरीत गर्ने छैनौँ” भनेर स्पष्ट पारेका छन् । यससँगै अब एशिया कप सुरु हुनुअघि नै भारतीय टोलीका लागि नयाँ जर्सी प्रायोजक खोज्नुपर्ने देखिएको छ ।