hERO hERO

अस्ट्रेलियाको ऐतिहासिक जित, दक्षिण अफ्रिकाको अहिलेसम्मकै ठूलो हार

आइतबार, भदौ ८, २०८२

काठमाण्डाै :अस्ट्रेलियाले म्याकायमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई २ सय ७६ रनले पराजित गर्दै ऐतिहासिक जीत हात पारेको छ ।

यो हार एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाको अहिलेसम्मकै ठूलो हार बनेको छ ।

यसअघि सन् २०२३ मा दक्षिण अफ्रिका भारतसँग कोलकातामा २ सय ४३ रनले पराजित भएको थियो । अस्ट्रेलियाले भने यस जितसँगै आफ्नै दोस्रो ठूलो जित दर्ता गरेको हो । अघिल्लो पटक २०२३ मै दिल्लीमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो ।

यस खेलमा अस्ट्रेलियाले दिएको ४ सय ३२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले २४.५ ओभरमै १ सय ५५ रनमा समेटिनुपर्‍यो । डेवाल्ड ब्रेभिसले सर्वाधिक ४९ रन जोडे । अस्ट्रेलियाका युवा स्पिनर कूपर कोनोलीले ६ ओभरमा २२ रन मात्र दिएर ५ विकेट लिन सफल भए । उनी एकदिवसीयमा पाँच विकेट लिने सबैभन्दा कान्छा अस्ट्रेलियाली खेलाडी बनेका छन् । साथै यो एकदिवसीय क्रिकेटमा अस्ट्रेलियाली स्पिनरको उत्कृष्ट प्रदर्शन पनि हो ।

यसअघि टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ४ सय ३१ रनको विशाल योगफल बनाएको थियो । यो अस्ट्रेलियाले एकदिवसीयमा बनाएको दोस्रो सबैभन्दा ठूलो योगफल हो । २००६ मा जोहानसबर्गमा दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाले ४ सय ३४ रन बनाएको थियो ।

अस्ट्रेलियाका ट्राभिस हेड, कप्तान मिचेल मार्श र क्यामरन ग्रीनले शतक प्रहार गरे भने एलेक्स केरीले अर्धशतक जोडे । दक्षिण अफ्रिकाका केशव महाराज र सेनुरन मुथुस्वामीले एक–एक विकेट लिए ।

यद्यपि तीन खेलको शृङ्खला भने दक्षिण अफ्रिकाले पहिले नै जितेको छ । अफ्रिकाले पहिलो खेल ९८ रनले र दोस्रो खेल ८४ रनले जितेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २१:५४
प्रतिक्रिया दिनुहोस्