hERO hERO
टप इन्ड टी–२०

नेपाल आज मेलबर्न रेनेगेड्ससँग भिड्दै

बुधबार, भदौ ४, २०८२

काठमाडौँ :अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज पुनः जितको अभियानलाई निरन्तरता दिने अवसर पाएको छ ।

सिरिजको पाँचौं खेलमा नेपालले आज बिहान सवा ११ बजे मेलबर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

यसअघि चार खेल खेलेको नेपालले केवल एकपटक मात्र विजय हात पारेको छ । प्रारम्भिक तीनै खेलमा हार बेहोरेपछि चौथो म्याचमा होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै नेपालले आत्मविश्वास जगाएको हो ।

सो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८० रनको चुनौती दिएको थियो । आरिफ शेख (३३), आसिफ शेख (२९), कुशल भुर्तेल (२७) र भीम सार्की (१८) ले उपयोगी योगदान दिए भने अन्त्यतिर लोकश बमले ११ बलमै अविजित २५ रन प्रहार गर्दै टोलीलाई सशक्त स्कोरसम्म पुर्‍याएका थिए ।

बलिङमा भने नन्दन यादव चम्किए । उनले तीन ओभरमा १७ रन मात्र खर्चिँदै पाँच विकेट झारे र अस्ट्रेलियामा ५ विकेट लिने पहिलो नेपाली बलर बने । सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले पनि एक/एक विकेट लिएर टोलीको जित सुनिश्चित गरे ।

उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई लगातार कमजोर प्रदर्शनका कारण उक्त खेलमा प्लेइङ–११ बाट विश्राम दिइएको थियो ।

अब नेपाल रेनेगेड्सविरुद्ध दोस्रो जित दर्ता गर्दै सिरिजमा लय पकड्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ । यता, तीन खेलमा दुई जित निकालेको मेलबर्न भने तेस्रो जितको खोजीमा रहनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्