hERO hERO

एसियाकपका लागि आज भारतीय टोलीको घोषणा हुँदै

मंगलबार, भदौ ३, २०८२

काठमाडौं : यूएईमा आगामी महिनादेखि सुरु हुने एशिया कप २०२५ का लागि भारतीय क्रिकेट टिमको घोषणा आज हुने भएको छ। रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि यो भारतको पहिलो ठूलो प्रतियोगिता हो।

सर्जरीपछि फिटनेस टेस्ट पास गरेका सूर्यकुमार यादवलाई कप्तान बनाइने प्रबल सम्भावना छ। त्यस्तै सञ्जु स्यामसन र अभिषेक शर्मा टिममा पक्का मानिएका छन् भने शुभमन गिल, यशस्वी जायसवाल र मोहम्मद सिराजलाई लिएर अझै अन्तिम टुंगो लागेको छैन।

चयन बैठक र पत्रकार सम्मेलन

आज दिउँसो करिब १:३० बजे मुम्बईमा राष्ट्रिय चयन समिति बैठक बस्नेछ। टिम घोषणा पछि प्रमुख चयनकर्ता अजीत अगरकर र कप्तानले संयुक्त पत्रकार सम्मेलनमार्फत स्क्वाड सार्वजनिक गर्नेछन्। सोही दिन महिला विश्वकप र अष्ट्रेलियाविरुद्धको सिरिजका लागि महिला टिम पनि घोषणा गरिनेछ।

बलिङमा टक्कर

इङ्ल्यान्ड भ्रमणमा प्रभावशाली प्रदर्शन गरेका मोहम्मद सिराजलाई यसपटक अवसर पाउन गाह्रो हुने देखिएको छ।
जसप्रीत बुमराहको समावेशीकरण लगभग पक्का मानिएको छ भने अर्शदीप सिंह र प्रसिद्ध कृष्णा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
त्यस्तै हर्षित रानालाई रिजर्भ खेलाडीमा राख्ने सम्भावना छ।

पूर्व खेलाडीहरूको टिम

हरभजन सिंहले ऋषभ पन्तलाई समेत समावेश गरेका छन्, यद्यपि उनी इङ्ल्यान्ड भ्रमणमा चोटिल भएका थिए।

मोहम्मद कैफले भने सिराज र गिललाई आफ्नो स्क्वाडमा अटाएका छन्।

भारतको अभियान

भारत एशिया कप २०२३ को डिफेन्डिङ च्याम्पियन हो। गत संस्करणमा भारतले फाइनलमा श्रीलङ्कालाई १० विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो।
यस पटक भारतले पहिलो खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्नेछ।
१४ सेप्टेम्बरमा पाकिस्तानविरुद्ध दोस्रो खेल र १९ सेप्टेम्बरमा ओमानविरुद्ध समूह चरणको अन्तिम खेल हुनेछ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्