hERO hERO

एनपीएलमा जुवाको बिज्ञापन गरेपछि क्यानलाई चेतावनी

मंगलबार, भदौ ३, २०८२

काठमाडौँ :नेपाल क्रिकेट सङ्घ (क्यान) प्रचलित कानुनविपरीत विज्ञापन प्रसारण गरेको भन्दै विज्ञापन बोर्डको नजरमा परेको छ।

गत मङ्सिर १५ देखि पुस ६ गतेसम्म भएको नेपाल प्रिमियर लिग (एनपीएल) विदेशी कम्पनी फर्स्ट सेन्चुरी मिडिया मार्फत स्टार स्पोर्ट्स च्यानलमा विज्ञापनसहित प्रसारण गरिएको थियो। उक्त प्रसारणमा जुवा साइटसमेतको प्रचार गरिएको उजुरी आएपछि बोर्डले कारबाही प्रक्रिया अघि बढाएको हो।

बोर्डका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीका अनुसार, पटक–पटक पत्राचार गर्दा पनि क्यानले चित्तबुझ्दो जवाफ नदिएपछि सचेत गराइएको हो। उहाँका भनाइमा, "निर्देशनको बेवास्ता भए भविष्यमा विज्ञापन गर्न वा गराउनै रोक लगाइनेछ।"

यसैबीच, बोर्डमा सूचीकृत नभई अवैध रूपमा विज्ञापन कारोबार गर्ने एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना र तीन महिनासम्म कारोबारमा रोक लगाउने निर्णय भएको छ। सो अवधिमा ती एजेन्सी सूचीकरणका लागि पनि अयोग्य हुनेछन्।

यस्तै, बोर्डले सबै विज्ञापनदाता र सञ्चारमाध्यमलाई ब्राण्ड डिजिटल लजिक प्राली र टिसिएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालीसँग कुनै पनि प्रकारको विज्ञापन कारोबार नगर्न/नगराउन आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्