एन्फा महिला लिग छनोट भोलीदेखि 

बुधबार, साउन २८, २०८२

ललितपुर :एन्फा महिला लिग छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलनमार्फत सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार छनोट प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् । यीमध्ये उत्कृष्ट ५ टोलीले एन्फा महिला लिगमा स्थान पाउने छन्।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सिधै लिगमा प्रवेश गर्नेछन् भने दुवै समूहका तेस्रो स्थानका टोलीबीच हुने प्ले–अफ खेलबाट अन्तिम अर्थात पाँचौँ टोलीको छनोट हुनेछ ।
समूह ‘ए’ — चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल।

समूह ‘बी’ — एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एनबीएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब।

उद्घाटन दिन एफसी रियलले छहारीसँग र सङ्कटा एफसीले नेपाल खेलकुद क्लबसँग प्रतिस्पर्धा गर्नेछन्।

530502324_1070440901915061_2274952478163945267_n-1755087825.jpg


 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्