hERO hERO

प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्धित

बुधबार, साउन २८, २०८२

काठमाडौं :नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई जोर्डनको अल इत्तिहाद क्लबमा अनुबन्धित भएकी छन्। इत्तिहादले उनलाई एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि अनुबन्ध गरेको हो।

साउन ६ गते नै जोर्डन पुगेकी राईलाई क्लबले सोमबार मात्र सार्वजनिक गरेको हो। सन् २०१८ मा स्थापना भएको अल इत्तिहाद जोर्डन महिला प्रो लिगको सफल क्लब हो, जसले २०२३ र २०२४ मा लगातार लिग उपाधि जितेको छ। क्लबमा पाकिस्तानी फरवार्ड नाइमा बोहानी पनि अनुबन्धित छिन्।

गत वर्ष पनि इत्तिहादले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेलेको थियो तर अगाडि बढ्न सकेको थिएन। यसपटक समूह ‘सी’ मा इत्तिहादसँगै मलेसियाको केलाना युनाइटेड, सिंगापुरको लायन सिटी र किर्गिस्तानको सड्युशोर एसआइ एसियागोल रहेका छन्।

समूह चरणका खेल मलेसियामा हुनेछन्। इत्तिहादले अगस्ट २५ मा लायन सिटीविरुद्ध अभियान सुरु गर्नेछ भने अगस्ट २८ मा केलाना युनाइटेड र अगस्ट ३१ मा सड्युशोरसँग खेल्नेछ। प्रीतिले एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन्।


 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्