Ncit Ncit

युएईले पाकिस्तान र अफगानिस्तानसंग टि–२० सिरिज खेल्ने

शुक्रबार, साउन १६, २०८२

काठमाडौँ :संयुक्त अरब इमिरेट्स (युएई)ले अफगानिस्तान र पाकिस्तानसंग टि–२० अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ ।

युएई क्रिकेट बोर्डका अनुसार त्रिकोणात्मक टि–२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो । सिरिज अगस्ट–सेप्टेम्बरमा युएईको शारजाहमा हुनेछ ।आईसीसीको भ्रमण तालिका अनुसार पाकिस्तानले यस अवधिमा अफगानिस्तानसँग तीन टि–२० खेल्ने कार्यक्रम थियो।

तर अब त्यो शृङ्खला यही त्रिकोणात्मक सिरिजमा परिणत भएको छ । सिरिजको राउन्ड–रोविन चरणमा प्रत्येक टोलीले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन्। शीर्ष दुई टोली फाइनल खेल्नेछन्। सबै खेल स्थानीय समय अनुसार बेलुका ७ बजेदेखि सुरु हुनेछन् ।

आईसीसीको वरियतामा पाकिस्तान ८औं स्थानमा छ भने अफगानिस्तान ९औं र युएई १४औं स्थानमा छन् । पाकिस्तानले एशिया कपमा ओमानविरुद्ध सेप्टेम्बर १२ मा पहिलो खेल खेल्नेछ। अफगानिस्तानले गत वर्ष जिम्बाबेमा भएको शृङ्खलापछि अहिलेसम्म टि–२० खेल खेलेको छैन। उसले एशिया कपमा हङकङविरुद्ध सेप्टेम्बर ९ मा पहिलो खेल खेल्नेछ।दुवै टोली सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टि–२० विश्वकपमा सिधै छनोट भएका छन्।

अफगानिस्तान गत टि–२० विश्वकपमा शीर्ष ७ मा परेर र पाकिस्तान आईसीसीको जुन ३०, २०२४ को कटअफ मितिमा भएको वरियताका आधारमा विश्वकपका लागि योग्य भएका हुन् ।

युएई भने अहिलेसम्म विश्वकपका लागि छनौट भएको छैन । उसले अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने एशिया–पूर्वी एशिया तथा प्यासिफिक छनोट प्रतियोगिताबाट विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्