सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपालले पहिलो पटक टि–२० महिला विश्वकपको ग्लोबल छनोट आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अनुसार ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ।
१० टोली सहभागी हुने यो छनोट प्रतियोगितामा नेपाल पनि समावेश हुनेछ। सहभागी टोलीहरूलाई दुई समूहमा बाँडिने छ र समूहको शीर्ष ३ टोली सुपर सिक्स चरणमा पुग्नेछन्। सुपर सिक्सबाट उत्कृष्ट ४ टोलीले सन् २०२६ मा इङ्गल्याण्ड र वेल्समा हुने विश्वकपमा खेल्ने अवसर पाउनेछन्।
प्रतियोगिताको विस्तृत खेल तालिका छिट्टै सार्वजनिक गरिने बताइएको छ। यसपटक बंगलादेश र आयरल्याण्डले २०२४ को विश्वकपमा सहभागी भइसकेका कारण उनीहरूले ग्लोबल छनोटमा सिधै स्थान पाएका छन्।
एसिया क्षेत्रीय छनोटबाट थाइल्याण्ड र नेपाल छनोटमा पुगेका हुन् भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिकाले मौका पाएको छ। बाँकी पाँच स्थान अफ्रिका र युरोपबाट समान दुई टोली र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट एक टोलीले भर्नेछन्।
नेपालले यसअघि एसियाली छनोटमा दोस्रो स्थान हात पार्दै पहिलो पटक ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको थियो।
यसैबीच, सन् २०२६ को आइसिसी महिला टि–२० विश्वकपको तालिका भने पहिले नै सार्वजनिक भइसकेको छ। जुन १२ देखि जुलाई ५ सम्म चल्ने प्रतियोगिताका ३३ खेल ओल्ड ट्राफर्ड, हेडिङ्ले, ह्याम्पशायर बाउल, ब्रिस्टल काउन्टी ग्राउन्डसहित ७ मैदानमा हुनेछ।