सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको पहिलो चरणको स्तरोन्नति कार्य एक महिनाभित्र सम्पन्न हुने भएको छ। संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिलाई निर्माण व्यवसायीले प्याराफिट र फ्लडलाइटसहितको पहिलो चरणको काम एक महिनामा सकिने जानकारी दिएका हुन्।
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार पहिलो चरणमा करिब ८० प्रतिशत काम पूरा भइसकेको छ। पहिलो चरणपछि मैदानमा १० हजार दर्शक अट्ने क्षमता रहनेछ भने दोस्रो चरणपछि सिट क्षमता २५ हजार पुर्याइने छ। अहिले १२ मध्ये १० ब्लकको सिट ढलान भइसकेको र बाँकी सिटहरू भारतबाट ल्याइँदै छन्।
रातिमा समेत खेल सञ्चालन गर्ने लक्ष्यसहित छ वटा फ्लडलाइट जडानको काम भइरहेको छ। फ्लडलाइटका लागि जमिनमुनिको काम सकिएको र तीन स्ट्यान्ड भारतबाट आइसकेका छन्। फ्लडलाइटमा जडान हुने ४२० वटा बत्ती युरोपबाट ल्याइँदै छन्।
रंगशालाको पहिलो र दोस्रो चरणको लागत झण्डै छ अर्ब रुपैयाँ अनुमान गरिएको छ। प्रथम चरण सकिएपछि नेसनल प्रिमियर लिगको दोस्रो संस्करण त्रिवि क्रिकेट मैदानमै गरिने तयारी छ।
यसै क्रममा समितिका सभापति ठाकुर गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घोष गरे अनुसार काम अघि बढेको बताए। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले त्रिवि मैदानले धेरै खेलप्रेमीको सपना बोकेको भन्दै फ्लडलाइटमा खेल सञ्चालन गर्ने लक्ष्य पूरा गर्न निर्माण तीव्र गतिमा भइरहेको जानकारी गराए।