सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
भरतपुर:चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बजेट खर्च नहुँदा १० करोड रुपैयाँभन्दा बढी रकम सरकारले फिर्ता लगेको छ। संघीय र बागमती प्रदेश सरकारले निकासा गरेको रकम निर्माण व्यवसायीले समयमा काम सम्पन्न गर्न नसक्दा फिर्ता गर्नुपरेको हो।
भरतपुर महानगरका डिभिजन इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले निकासा गरेको २५ करोडमध्ये करिब ७ करोड ३४ लाख रुपैयाँ काम नहुँदा फिर्ता गरिएको छ। यस्तै, बागमती प्रदेश सरकारले दिएको १० करोड रुपैयाँमध्ये ३ करोड २० लाख रुपैयाँ खर्च हुन नसकी फर्काइएको हो।
रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सहमति छ। संघीय सरकारले महानगरको हिस्सा स्वरूप रकम दिएको थियो। तर, महानगरले विनियोजन गरेको ५ करोड रुपैयाँसमेत फ्रिज भएको छ।
हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरसँग ७८ करोड ५० लाखमा ठेक्का सम्झौता गरिएको थियो। सम्झौता अनुसार आगामी पुस २२ भित्र रंगशाला सम्पन्न हुनुपर्ने हो। तर, हालसम्म ४० प्रतिशत काम पूरा हुनुपर्नेमा आर्थिक प्रगति जम्मा २ दशमलव ४९ प्रतिशत मात्रै रहेको महानगरको भनाइ छ।
हालसम्म रंगशालामा पाँच हजार दर्शक क्षमताको प्याराफिट, टावरको भुइँतलाको ढलान, ट्रान्सफर्मर जडानजस्ता काम भएको छ। तर प्रगति सुस्त भएपछि प्रमुख रेनु दाहालसहितको टोलीले ठेकेदारलाई काम छिटो गर्न पटक–पटक ताकेता गर्दै आएको छ।