सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :अक्टोबरमा ओमानमा आयोजना हुने टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेका ३२ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ। तर चर्चित लेगस्पिनर सन्दीप लामिछाने भने बन्द प्रशिक्षणबाट टाढै छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले छनोटको तयारीस्वरुप ३२ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गर्दै बन्द प्रशिक्षण सुरु गरेको हो। तीमध्ये २० खेलाडी दोस्रो चरणको तयारीका लागि भारतको बैंगलोर पठाइएका छन्। तर, सन्दीप न त बैंगलोर गएका छन्, न त नेपालमै प्रशिक्षणमा छन्।
क्यानका प्रवक्ता चुम्बी लामाका अनुसार सन्दीपले व्यक्तिगत कारण देखाउँदै प्रशिक्षणमा उपस्थित नहुने जानकारी दिएका छन्। उनले भने, “उहाँ ३२ सदस्यीय सूचीमा हुनुहुन्छ र छनोट प्रतियोगिता खेल्नुहुन्छ। तर अहिले प्रशिक्षणमा उपस्थित हुन सक्नुभएको छैन।”
सन्दीपले बन्द प्रशिक्षणमा भने नजाँदा फेरि एकपटक ‘उपलब्ध हुन्छन् कि हुँदैनन्’ भन्ने बहस चुलिएको छ। पछिल्लो समय हरेक ठूलो प्रतियोगिता अघि सन्दीपको उपलब्धता विवादको विषय बन्ने गरेको छ।
क्यानको अनुबन्धनबाहिर सन्दीप सन्दीप लामिछाने हाल क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा छैनन्। केही समयअघि उनले व्यक्तिगत कारण देखाउँदै सम्झौताबाट अलग भएको घोषणा गरेका थिए। यसैका आधारमा कतिपयले उनलाई क्यानको नियमभन्दा बाहिर रहेको ठान्ने गरेका छन्।
तर, क्यान सचिव पारस खड्काका अनुसार सम्झौतामा नरहे पनि नियम र कोड अफ कन्डक्ट सबै खेलाडीका लागि समान छन्। “कन्ट्रयाक्ट बाहिर रहँदा पारिश्रमिक पाउँदैनन्, तर टीममा हुँदा भत्ता पाउँछन्। विदेशी लिग खेल्न अनुमति लिनु परे पनि क्यानकै स्वीकृति चाहिन्छ,” पारसले भने।
उनले सन्दीपसँग अनुबन्धमा फर्कन आग्रह पनि गरिएको जानकारी दिएका छन्। “हामी ढोका खुला राखेका छौं, उहाँले जुनबेला चाहनुहुन्छ सम्झौतामा फर्किन सक्नुहुन्छ,” उनले भने।
तर, सन्दीप निकट स्रोतका अनुसार उनी तत्काल सम्झौतामा फर्किने सम्भावना छैन। स्कटल्यान्ड भ्रमणपश्चात पनि क्यानसँग यो विषयमा छलफल नभएको स्रोतको दाबी छ।
आगामी खेलहरुमा सन्दीप सहभागि हुन्छन ? नेपालले अक्टोबरमा ओमानमा टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट खेल्नेछ। यस्तै, सेप्टेम्बरमा वेस्ट इन्डिजसँग टि–२० अन्तर्राष्ट्रिय सिरिज पनि तालिकामा छ। यी दुवै प्रतियोगितामा सन्दीप सहभागी हुने विश्वास गरिएको छ। तर अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी-२० सिरिजमा सन्दीपको सहभागिता अझै प्रस्ट भइसकेको छैन।
नेपाली क्रिकेटका महत्वपूर्ण खेलहरू नजिकिँदै गर्दा सन्दीपको भूमिका फेरि एकपटक केन्द्रमा आएको छ। उनी मैदानमा फर्किने समय पर्खाइको विषय बनेको छ।