सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :एसिया कप २०२५ युएईमा हुने भएको छ ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का प्रमुख मोहसिन नकवी एसिया कप युएइमा हुने बताएका हुन् । बंगालादेशको राजधानी ढाकामा आयोजित एसीसीको वार्षिक साधारण सभाका क्रममा एसिया कपको मितिबारे छलफल भएको हो । एशिया कप २०२५ को सेप्टेम्बर ९ देखि २८ सम्म युएईमा हुने पक्का भएको छ ।
यस पटकको एशिया कप टी–२० ढाँचामा हुनेछ । कुल आठ टोली सहभागी हुने प्रतियोगितामा एसीसीका पाँच पूर्ण सदस्य राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका साथै युएई, ओमान र हङकङले सहभागिता जनाउनेछन् । गत मे महिनामा भारत–पाकिस्तान सैन्य झडपपछि एशिया कपको भविष्य अन्यौलमा परेको थियो। बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै नकवीले प्रतियोगिताको मिति र स्थलको बारेमा औपचारिक घोषणा नभएपनि युएईमा गर्ने निर्णय पुष्टि गरेका हुन् ।
यस पटकको एशिया कपको औपचारिक आयोजक भारत हो। तर भारत र पाकिस्तान क्रिकेट बोर्डबीच भएको सहमतिअनुसार आगामी तीन वर्षसम्म भारत वा पाकिस्तानमा हुने कुनै पनि प्रतियोगिता दुवै राष्ट्रका खेलाडीका लागि तटस्थ स्थलमा गरिनेछ । यस वर्ष पाकिस्तानमा आयोजित च्याम्पियन्स ट्रफीमा समेत भारतले सबै खेल दुबईमा खेलेको थियो। भारतले पाकिस्तानविरुद्धको खेलसहित सबै खेल दुबईमा खेलेर उपाधि जितेको थियो । भारत अहिलेको डिफेन्डिङ च्याम्पियन हो।
उसले सन् २०२३ को फाइनलमा श्रीलंकालाई हराएको थियो। यसअघि सन् २०२२ मा भएको टी–२० संस्करणमा श्रीलंकाले पाकिस्तानलाई पराजित गर्दै उपाधि उचालेको थियो ।