hERO hERO

अस्ट्रेलियाले जित्यो वेस्टइन्डिजविरुद्दको सिरिज

शनिबार, साउन १०, २०८२

काठमाडौँ :वेस्टइन्डिज विरुद्दको टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ ।

शुक्रवार भएको तेस्रो खेलमा वेष्टइण्डिजलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । जितकालागि वेष्टइण्डिजले दिएको २१५ रनको लक्ष्य अष्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले  । ३७ बल खेलेका उनले ६ चौका र ११ छक्का प्रहार गर्दै अविजित १०२ रन बनाए ।

मिच ओवेनले ३६ रन जोडे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो ।  ओपनर शाइ होपले ५७ बलमा अविजित १०२ रन बनाएर पहिलो पटक टी–२० मा शतक पुरा गरे।

उनी क्रिस गेलपछि वेस्टइन्डिजका लागि सबै फम्र्याटमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन्। होपलाई ब्रान्डन किङले साथ दिएका थिए। किङले ३६ बलमा ६२ रन बनाए।बलिङतर्फ अस्ट्रेलियाका शॉन एबोटले ४ ओभरमा २१ रन मात्र खर्चेर किफायती बलिङ गरे। नाथन एलिसले ४ ओभरमा १ विकेट लिए भने एडम जाम्पा र बेन ड्वार्शुइस केही महँगा साबित भए ।

२१५ रनको लक्ष्य पछ्याउन ओर्लेको अस्ट्रेलियाले सुरुवात राम्रो गरेपनि पावरप्लेमा ३ विकेट गुमायो। मिच मार्श, ग्लेन म्याक्सवेल र जोश इंग्लिस सस्तैमा आउट भए। क्यामरून ग्रिन पनि धेरै टिक्न सकेनन्।तर त्यसपछि टिम डेभिड र मिच ओवेनले कमालको साझेदारी गर्दै खेललाई अस्ट्रेलियाको पक्षमा मोडे।

डेभिडले ३७ बलमा अविजित १०२ रन बनाएर अस्ट्रेलियाका लागि सबैभन्दा छिटो टी–२० शतकको रेकर्ड पनि तोडेका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १८:०२
प्रतिक्रिया दिनुहोस्