सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:निकट भविष्यमा टेस्ट राष्ट्र बन्ने लक्ष्यसहित अघि बढिरहेको नेपाली क्रिकेटले बंगलादेश र श्रीलंकासँग अन्तर्राष्ट्रिय शृङ्खला खेल्न सक्ने सम्भावना बलियो बन्दै गएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी वर्ष बंगलादेश र श्रीलंकाविरुद्ध द्विपक्षीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आयोजना गर्ने लक्ष्यसहित तयारी अघि बढाइरहेको छ । यसका लागि क्यानले दुवै देशका सम्बन्धित क्रिकेट बोर्डसँग आवश्यक छलफल जारी राखेको जनाएको छ । शृङ्खला कुन ढाँचामा हुने भन्ने विषयमा भने हालसम्म टुंगो लागेको छैन ।
सम्भावित खेलहरू एकदिवसीय, टी–२० वा प्रथम श्रेणी क्रिकेटमध्ये कुनै एक हुन सक्ने अनुमान गरिएको छ । यदि बंगलादेश र श्रीलंकाले प्रस्ताव स्वीकार गरेमा नेपाली क्रिकेटले पहिलोपटक पूर्ण टेस्ट सदस्य राष्ट्रसँग आधिकारिक द्विपक्षीय शृङ्खला खेल्ने ऐतिहासिक अवसर पाउनेछ । हालसम्म नेपालले टेस्ट राष्ट्रहरूसँग बहुराष्ट्रिय प्रतियोगितामा मात्रै प्रतिस्पर्धा गर्दै आएको छ ।
क्यानका एक पदाधिकारीका अनुसार यस शृङ्खलाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा थप मजबुत बनाउन र टेस्ट राष्ट्र बन्ने दीर्घकालीन योजनालाई टेवा पु¥याउने विश्वास लिइएको छ ।
यसअघि नेपालले कुवेतसँग वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने सहमति गरिसकेको छ भने यसपटक दक्षिण एसियाली ठूला क्रिकेट राष्ट्रहरूसँग खेल्ने योजना सफल भएमा नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।