Add web Add web

एनपिएलका खेलहरु अब रातीमा पनि खेलाइने

बुधबार, साउन ७, २०८२

काठमाडौं :नेपाली क्रिकेट इतिहासमै पहिलो पटक रातीको समयमा खेल हेर्न पाईने भएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू हुने त्रिवि क्रिकेट मैदानमा राति पनि खेलाउने गरी तयारी भईरहेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा त्रिवि मैदानमा फ्लडलाइट बत्तीको व्यवस्था गरेर राति खेल सञ्चालन हुने खुलाएका हुन् । 
क्यानका प्रवक्ता छुम्बी लामाले पनि यसलाई पुष्टि गर्दै भने, ‘त्रिवि मैदान स्तरोन्नतिको अन्तिम चरणमा छ । समयमै काम पूरा भयो भने दर्शकहरूले पहिलोपटक घरेलु मैदानमै रातिको क्रिकेटको मजा लिन पाउनेछन् ।’
एनपीएलको दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा हुने पक्का भइसकेको छ । त्यसअघि खेलाडी छनोटका लागि मिनी अक्सन अगस्टमा हुँदैछ । अक्सनका लागि खेलाडी दर्ता गर्ने समय गएराति सकिएको र अब छिट्टै अन्तिम नामावली सार्वजनिक गरेर अक्सन मिति घोषणा गरिने क्यानले जनाएको छ । त्रिवि मैदानमा अहिले १५ हजार दर्शक अट्ने प्यारापिट र ६ वटा फ्लडलाइट जडानको काम भइरहेको छ ।

असार मसान्तभित्र सक्ने भनिएको काम समयमा नसकिएपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर म्याद थप गरिएको छ । मैदानमा बाँकी रहेका कामहरु अहिले निरन्तर भईरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १४:०३
प्रतिक्रिया दिनुहोस्