बङ्गालादेशसंग पाकिस्तान सात विकेटले पराजित

आइतबार, साउन ४, २०८२

काठमाडौं :ढाकामा सम्पन्न पहिलो टी-२० खेलमा बंगलादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। पहिला ब्याटिङ गर्दै पाकिस्तानले जम्मा ११० रनमै आफ्नो पारी समाप्त गरेको थियो।

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४४ रन बनाए। एक समय पाकिस्तानले ६० रन पुग्न पनि कठिन भएको अवस्थामा ४६ रनमै आधा टोली पवेलियन फर्किसकेको थियो। खुशदिल शाहले १७ रन र अब्बास अफरीदीले २२ रनको योगदान दिए।

जवाफी पारीमा बंगलादेशले सुरुवात कमजोर गरे पनि ओपनर परवेज हुसैनको अर्धशतकीय पारीले जित सुनिश्चित गरिदियो। सुरुवातमै बंगलादेशका दुई विकेट जम्मा ७ रनमा खसेका थिए। तर, परवेज हुसैन र तौहीद हृदयबीच ७३ रनको महत्वपूर्ण साझेदारी बनेपछि खेल बंगलादेशतर्फ मोडिएको हो। हृदयले ३६ रन बनाए भने हुसैन ५६ रनमा अविजित रहे। जाकिर अलीले पनि १५ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए।

यो जितसँगै १८ वर्षको अन्तरालमा बंगलादेशले पाकिस्तानलाई टी-२० क्रिकेटमा चौथो पटक हराएको हो। बंगलादेशले पाकिस्तानलाई पहिलो पटक सन् २०१५ मा हराएको थियो। त्यसपछि २०१६ र २०२३ मा पनि उसले पाक टोलीमाथि जित निकालेको थियो।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्