hERO hERO

नेपाललाई लगातार दोस्रोपटक आइसीसी ग्लोबल अवार्ड

डिजिटल फ्यान इन्गेजमेन्ट’ मा विश्वमै उत्कृष्ट
आइतबार, साउन ४, २०८२

काठमाडौं :नेपाली क्रिकेटले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उपस्थितिलाई प्रमाणित गर्दै विश्वकै ठूलो मानिने ग्लोबल अवार्ड हात पारेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड लगातार दोस्रो पटक जित्न सफल भएको हो।

सिंगापुरमा हालै सम्पन्न वार्षिक सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले आइसिसी अध्यक्ष जय शाहको हातबाट अवार्ड ग्रहण गरे।

किन पायो नेपालले यो अवार्ड?
नेपालले पछिल्लो एक वर्षमा डिजिटल माध्यमबाट क्रिकेटप्रेमीलाई जोड्न उल्लेखनीय काम गरेको छ। क्यानले फेसबुक, इन्स्टाग्राम, युट्युब, एक्स (ट्विटर) र नयाँ सुरु गरेको ‘क्यान डोमेस्टिक’ पेजमार्फत करोडौं फ्यानसम्म क्रिकेट पुर्‍याएको तथ्यांक आइसिसीले सार्वजनिक गरेको छ।

गत वर्ष ११ लाख ७० हजार जति रहेका फलोअर्स संख्या अहिले १५ लाख ९० हजार नाघिसकेको छ। यस क्रममा ४ लाख २० हजारभन्दा धेरै नयाँ फलोअर्स थपिएका छन्। फेसबुक भिडियो हेर्ने समय मात्रै दोब्बर हुँदै १ करोड ३४ लाख मिनेट पुगेको छ भने ‘क्यान डोमेस्टिक’ पेजले मात्रै ४४ लाख मिनेट वाच टाइम बटुलेको छ।

युट्युबतर्फ वाच टाइम २७७ प्रतिशतले बढेर २१ लाख ३० हजार घण्टा पुगेको छ। इन्स्टाग्राममा पनि ४ करोडभन्दा धेरै भ्यूज पुगेका छन्। खेलका हाइलाइट्स, खेलाडीका भित्री कथाहरू, प्रत्यक्ष अपडेटहरूले फ्यानलाई अझ नजिक बनाइरहेको क्यानको आँकडा देखाउँछ।

देशभित्रमात्र होइन, विदेशसम्म नेपाली क्रिकेट
डिजिटल माध्यममार्फत नेपाली क्रिकेटले विश्वभर नेपाली समुदाय र अन्तर्राष्ट्रिय दर्शकलाई समेत जोडिरहेको छ। विदेशमा रहेका नेपाली फ्यानहरू समेत यस अभियानको मुख्य हिस्सा बनेका छन्।

यसरी वर्षौंदेखि मैदानमा दर्शकको मायाले भरिएको नेपाली क्रिकेट अब डिजिटल दुनियाँमा पनि उस्तै लोकप्रिय बन्दै गएको छ। यो पुरस्कारले नेपाली क्रिकेटप्रेमीहरूलाई अझ उत्साहित बनाउने देखिन्छ।

नेपालको लागि अर्को उपलब्धि, अर्को गर्व।
डिजिटल क्रान्तिमा पनि नेपाली क्रिकेट अगाडि — यसले भविष्यमा अझ धेरै नयाँ दर्शक जोड्ने निश्चित छ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्