सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टि ट्वान्टी विश्वकप अझै ठूलो बनाउन छलफल अघि बढाएको छ। यसका लागि ६ सदस्यीय समिति गठन गरी सम्भाव्यता अध्ययन सुरु भएको छ। यो समिति सिंगापुरमा भएको वार्षिक बैठकमा बनेको हो। भारत, अष्ट्रेलिया र इंग्ल्यान्डका क्रिकेट अधिकारीहरू समेत समिति सदस्य छन्। समितिले आफ्नो रिपोर्ट दिएपछि मात्रै टोली संख्या बढाउने वा नबढाउने टुंगो लाग्नेछ। सम्भावना ठिक्क भएमा २०२६ पछि मात्रै यो नियम लागू हुनेछ।
टि–ट्वान्टी क्रिकेटमा पछिल्लो समय नयाँ राष्ट्रहरूले धुम मच्चाइरहेका छन्। इटालीले पहिलो पटक युरोप छनोट जितेर स्कटल्यान्डलाई घर पठायो। युगान्डाले टेस्ट राष्ट्र जिम्बाबेलाई हराएर २०२४ को विश्वकपमा स्थान बनायो। यस्तो प्रदर्शनपछि आईसीसीमा नयाँ टोली थप्ने बहस चुलिएको हो।
अहिले विश्वकपमा २० टोली छन्। २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने संस्करणमा पनि २० टोली नै रहनेछ। अहिले एसिया इस्ट प्यासिफिकबाट ३ टोली छनोट हुन्छन्। अफ्रिका र युरोपबाट २–२ र अमेरिका क्षेत्रबाट १ टोली। टोली संख्या ३२ पुगेपछि सबै क्षेत्रमा अवसर बढ्ने भएकाले नेपालजस्ता राष्ट्रलाई फाइदा पुग्ने देखिएको छ।
नेपालको लागि अबको चुनौती पनि त्यति सजिलो छैन। अक्टोबरमा ओमानमा हुने एसिया छनोटमा नेपाल समूह बी मा छ। कुवेत र जापानसँग भिड्नुपर्नेछ। समूह ए मा मलेसिया, कतार र युएई छन् भने समूह सी मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्। समूहका शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन्। त्यसपछि मात्रै शीर्ष तीनले विश्वकप खेल्ने टिकट पाउनेछन्।
अहिले आयोजक भारत र श्रीलंकासँगै सुपर–८ पुगेका अफगानिस्तान, बंगलादेश, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइण्डिज र अमेरिका स्वतः विश्वकपमा छन्। पाकिस्तान, न्युजिल्याण्ड र आयरल्यान्डले वरीयताको आधारमा सिधै स्थान पाएका छन्।
क्षेत्रीय छनोटबाट क्यानडा, इटाली र नेदरल्यान्ड्सको टिकट पक्का भइसकेको छ। अब अफ्रिकाबाट पनि दुई टोली आउनेछन्। यसका लागि जिम्बावे, नामिबिया, युगान्डा, केन्या जस्ता टोली भिड्दै छन्।
नेपालले यो मौका कत्तिको सदुपयोग गर्छ त्यो भने हेर्न बाँकी छ ।