सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेले क्रिकेट संघ (क्यान)का सचिव तथा पूर्व कप्तान पारस खड्काको खुलेर प्रशंसा गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सन्दीपले सिंगापुरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को वार्षिक सम्मेलनमा पारसले दिएका सम्बोधन सोचपूर्ण र भावनात्मक" भएको बताएका छन्।
“आईसीसी सम्मेलनमा पारस दाइको सम्बोधन प्रभावशाली मात्र होइन, त्यो नेपालको क्रिकेटप्रतिको साँचो माया र इमानदार दृष्टिकोणले भरिएको थियो,” सन्दीपले लेखेका छन्, “उहाँले केवल एक सचिव वा पूर्व कप्तानको हैसियतमा होइन, नेपाली क्रिकेटको भविष्यप्रति गहिरो जिम्मेवारी बोधसहित बोलेको महसुस भयो।”
सन्दीपका अनुसार पारस खड्काले एनपीएलको सफलतादेखि लिएर टेस्ट क्रिकेटतर्फको यात्रा, सरकारको लगानी, खेलाडी विकास, प्रणाली निर्माण जस्ता विषयलाई स्पष्ट रूपमा राख्दै नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास दिलाएका थिए।
“उहाँ नीतिमात्र निर्माण गर्दै हुनुहुन्न, उहाँ सपना जोगाउँदै हुनुहुन्छ, प्रणाली बनाउँदै हुनुहुन्छ, र हामीजस्ता युवालाई टेकेर उभिन सकिने बलियो मञ्च तयार पार्दै हुनुहुन्छ,” सन्दीपले भनेका छन्।
उनले विश्व क्रिकेटको ठूलो मञ्चमा पारस खड्का नेपाली क्रिकेटको आवाज बनिदिएकोमा गौरव अनुभूति भएको पनि बताए। “त्यो कोठा ठुलो थियो, तर पारस दाइ सबैभन्दा अग्लो देखिनुभयो। उहाँ हामी सबैका लागि उभिनुभयो। त्यसले सबैथोक अर्थ राख्छ,” उनले उल्लेख गरेका छन्।
सन्दीपको प्रशंसा नेपाली क्रिकेटमा पारस खड्काको दूरदृष्टि र नेतृत्वको मान्यता पनि हो, जसले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको उपस्थिति थप मजबुत बनाउँदै लगेको छ।