रोहित चन्द केइसुके होन्डाको ‘एसिया वारियर्स एफसी’ मा आबद्ध

शनिबार, साउन ३, २०८२

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द जापानी फुटबल आइकन केइसुके होन्डाले सुरु गरेको नयाँ टोली एसिया वारियर्स एफसी मा आबद्ध भएका छन्।

सन् २०२५ को सुरुवातमा स्थापना गरिएको यो क्लबले एसियाका चर्चित तथा अनुभवी खेलाडीहरूलाई एउटै छातामुनि ल्याएर मैदानभित्र र बाहिर सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

‘सीमाना पारिको एकता’ (Unity Beyond Borders) भन्ने नाराका साथ अघि बढेको यस पहलले फुटबललाई माध्यम बनाएर सामाजिक सद्भाव र महादेशीय ऐक्यबद्धताको सन्देश फैलाउने उद्देश्य लिएको छ।

होन्डाले विशेषगरी अवकाश नजिक पुगेका एसियाली खेलाडीहरूलाई पुनः एकत्रित गर्दै यो टोली खडा गरेका हुन्। यही क्रममा लामो समयदेखि नेपाली राष्ट्रिय टिम र इन्डोनेसियाली क्लबहरूमा अनुभव बटुलेका रोहित पनि टोलीमा समावेश भएका छन्।

एसिया वारियर्स ले पहिलो खेल यही जुलाई २०, २०२५ मा इन्डोनेसियाको पर्सिक केदिरी विरुद्ध खेल्नेछ। यो मैत्रीपूर्ण भिडन्तलाई एसियाका पूर्व लिजेन्ड खेलाडीहरूको नयाँ एकताको प्रतीकको रूपमा हेरिएको छ।

यस अवसरलाई रोहित चन्दका लागि अन्तर्राष्ट्रिय स्तरमा फेरि आफ्नो क्षमता प्रस्तुत गर्ने सुनौलो मौका मानिएको छ। टोलीले आगामी दिनमा च्यारिटी खेल, सामाजिक परियोजना र फुटबल प्रशिक्षण क्याम्पमार्फत एसियाली फुटबलको पहुँच र प्रभाव विस्तार गर्ने योजना बनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्