T10 T10

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाइ हरायाे

बिहीबार, साउन १, २०८२
Global

हरारेः त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले दमदार प्रदर्शन गर्दै दक्षिण अफ्रिकामाथि २१ रनको जित निकालेको छ।

बुधवार जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले ५ विकेटको क्षतिमा १७३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकी टोली १८.२ ओभरमै १५२ रनमा समेटियो।

न्युजिल्यान्डका ओपनर टिम रोबिन्सनले शानदार अर्धशतक प्रहार गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। उनले अविजित रहँदै ५७ बलमा ६ चौका र ३ छक्कासहित ७५ रन जोडे।

बलिङतर्फ, जोकेब डफी र म्याट हेनरीले समान तीन–तीन विकेट लिँदा, इश सोडिले दुई विकेट लिएर अफ्रिकी ब्याटिङ लाइनअपलाई थिचेका थिए।

दक्षिण अफ्रिकाका लागि डिवाल्ड ब्रेभिसले आक्रामक प्रयास गरे पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। उनले १८ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन बनाए।

शृङ्खलाको अंकतालिकामा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले समान दुई अंक जोडे पनि रनरेटको आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। घरेलु टोली जिम्बाब्वे अझै अङ्कविहीन छ।

शृङ्खला डबल राउण्ड रोबिन ढाँचामा हुँदैछ, जसपछि शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। सिरिजको तेस्रो खेल शुक्रवार न्युजिल्यान्ड र जिम्बाब्वेबीच हुने तालिकामा छ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्