यु-२० महिला साफ च्याम्पियनसिप

नेपालले आज श्रीलङ्कासङ्ग दाेस्राे पटक प्रतिस्पर्धा गर्दै

बिहीबार, साउन १, २०८२

ढाका:साफ यू–२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिग अन्तरगत नेपालले आज श्रीलंकासँग दोस्रोपटक भिड्दैछ।

पहिलो पटकको भिडन्तमा नेपालले श्रीलंकालाई ७–० को ठूलो अन्तरले पराजित गरेको थियो। त्यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानमाथि ६–१ को जित निकालेको थियो तर दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले स्तब्ध बनेको थियो।

श्रीलंकाले अहिलेसम्म दुवै खेलमा हार बेहोरेको छ — पहिलो खेलमा बंगलादेशसँग ९–१ ले र दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो।

प्रतियोगिताको अंकतालिकामा बंगलादेश ३ खेलबाट शतप्रतिशत जित निकाल्दै ९ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ भने भुटानको खातामा ३ अंक छ।

चार टोली सहभागी यो प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ। लिग चरण सकिएपछि सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ।

आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्