Dosa Dosa

समयमै काम नसकेपछि त्रिवि मैदानका ठेकेदार जरिवाना तिर्दै काम गर्दै

बुधबार, असार ३२, २०८२

काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान स्तरोन्नतिको काम समयमा नसकाएपछि ठेकेदार कम्पनीलाई दैनिक जरिवाना तिर्नुपर्ने भएको छ।

प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम समयमा नसकिएपछि सम्झौताअनुसार ठेकेदार कम्पनीले योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत बराबरको हर्जाना दिनुपर्ने शहरी विकास मन्त्रालयले जनाएको छ। यो हर्जाना दैनिक करिब दुई लाख रुपैयाँभन्दा बढी पर्न आउनेछ।

प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको थियो। ठेकेदार कम्पनीले मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेको थियो।

कार्यालयका प्रमुख चक्रवर्ती कण्ठका अनुसार असार ३० गतेबाटै ठेकेदार कम्पनीलाई हर्जाना लाग्ने जानकारी दिइएको थियो र अहिले कम्पनीले दैनिक हर्जाना तिरेर काम गरिरहेको छ। कानुन अनुसार अधिकतम २ सय दिनसम्म हर्जाना तिरेर काम गर्न पाइनेछ। त्यसपछि पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ।

हालसम्म प्यारापिटतर्फ ६३ प्रतिशत वित्तीय र ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने फ्लडलाइटतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति पुगेको छ। ठेकेदार कम्पनीले भने बाँकी काम एक महिनामा सकिने दाबी गरेको छ। अहिले ४ हजार सिट जडान भइसकेको छ र ६ मध्ये ३ वटा फ्लडलाइट पोल आइसकेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्