Dosa Dosa

श्रीलंकालाई नेपालले सात शुन्यले हरायो

मंगलबार, असार ३१, २०८२

काठमाडौँ :बंगलादेशमा जारी साफ महिला यू–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकाविरुद्द फराकिलो जित निकालेको छ ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपालले श्रीलंकालार्ई ७–० गोलले हराएको हो ।प्रतियोगिताको तेस्रो खेलमा मिना देउवाले ह्याट्रिक गरेकी हुन् भने पूर्णिमा राईले दुई तथा समिक्षा मगर र सरिता कुमारीले एक–एक गोल थपे। 

खेलको ८औं मिनेटमा मीनाले डिबक्स बाहिरबाट गरेको उत्कृष्ट प्रहारले नेपालको खाता खोलेको थियो। त्यसको केही मिनेटपछि, १३औं मिनेटमा समिक्षा मगरले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्।

४२औं मिनेटमा मीनाले दोस्रो व्यक्तिगत गोल गरेपछि इन्जुरी समयमा पूर्णिमा राईको दुई झट्काले नेपाललाई पहिलो हाफमा नै ५–० को बलियो अग्रता दिलायो।

दोस्रो हाफमा नेपालले खेलको नियन्त्रण कायम राखे पनि गोलको पर्खाइ ७०औं मिनेटसम्म लम्बिएको थियो। सोही मिनेटमा मीनाले आफ्नो ह्याट्रिक पूरा गर्दै ६औं गोल थपिन्। खेलको अन्त्यतिर, इन्जुरी समयमै सरिता कुमारीले फ्रिकिकमार्फत गोल गर्दै स्कोरलाइन ७–० मा पुर्‍याइन्।

नेपालले खेलमा अन्य थुप्रै अवसर सिर्जना गरे तापनि ती सबैलाई गोलमा परिणत गर्न भने सफल भएन।

यसअघि, नेपालले भुटानमाथि ६–१ को जित निकालेको थियो भने बंगलादेशसँगको रोमाञ्चक खेलमा ३–२ को हार बेहोरेको थियो।

श्रीलंकाका लागि प्रतियोगिता कठिन बन्दै गएको छ। उनीहरूले बंगलादेशसँग ९–१ र भुटानसँग ५–० को हार व्यहोरेका छन्।

प्रतियोगिता डबल राउन्ड रोबिन फर्म्याटमा भइरहेको छ जहाँ चार टोली सहभागी छन्। हालसम्म बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ६ अंकसहित दोस्रो स्थानमा छ। भुटान ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

साफ यू–२० महिला च्याम्पियन बन्न अब शीर्ष स्थानमा पुग्नु नेपालका लागि अनिवार्य बन्दै गएको छ।

साफ यू–२० महिला च्याम्पियनसिप २०८२ – अंक तालिका :

स्थान टोली खेलेका खेल जित हार बराबरी गोल अन्तर अंक
 बंगलादेश +१२
 नेपाल +११
भुटान −६
 श्रीलंका −१७

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २२:३०
प्रतिक्रिया दिनुहोस्