Dosa Dosa

ब्याटरलाई जिस्काएपछि सिराजलाई आइसीसीले गर्‍यो जरिवाना

सोमबार, असार ३०, २०८२

काठमाडौँ: भारतीय तीव्र गतिका बलर मोहम्मद सिराजमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जरिवाना लगाएको छ।

लर्ड्समा जारी इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको चौथो दिन आचारसंहिता उल्लङ्घन गरेपछि उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना तोकिएको छ। साथै, आइसीसीले उनलाई एक डिमेरिट प्वाइन्ट समेत दिएको छ।

सिराजले खेलाडी र अफिसियलका लागि तोकिएको आचारसंहिताको धारा २.५ उल्लङ्घन गरेका हुन्। उक्त धारा अन्तरगत मैदानमा अपमानजनक वा आक्रामक व्यवहार, भाषा र इशारा गर्न नपाइने प्रावधान छ।

चौथो दिन सिराजले बेन डकेटलाई आउट गरेपछि सोझै उनीतिर गई जिस्क्याएका थिए। आइसीसीले यसलाई नियमविपरीत ठहर गरेको हो।

यता भारत र इङ्ल्यान्डबीचको तेस्रो टेस्ट रोचक मोडमा पुगेको छ। आज पाँचौँ तथा अन्तिम दिन भारतलाई जितका लागि अझै १३५ रन आवश्यक छ भने इङ्ग्ल्यान्डले ६ विकेट चाँडो झार्नुपर्नेछ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्