सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौ : बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा जारी २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाली समय अनुसार खेल बेलुकी ६:४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा भूटानलाई ६–१ गोलले हराउँदै आत्मविश्वास बनाएको नेपाली टोली आज घरेलु टोली बंगलादेशसँग भिड्नेछ। बंगलादेशले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कामाथि ९–१ को एकतर्फी जित निकालेको थियो।
वर्तमान अंक तालिकामा बंगलादेश गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ। दुवै टोलीको समान ३ अंक रहेको छ।
यो प्रतियोगितामा नेपाल, बंगलादेश, भूटान र श्रीलङ्का गरी जम्मा चार टोलीको सहभागिता छ। प्रतियोगिता डबल राउन्ड–रोबिन फर्म्याटमा सञ्चालन हुँदैछ, जसअनुसार प्रत्येक टोलीले अन्य तीन टोलीसँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्।
लिग चरण समाप्तिमा सबैभन्दा धेरै अंक बटुल्ने टोली च्याम्पियन घोषित हुनेछ। नेपालले आगामी खेलहरू क्रमशः असार ३२ र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भूटानसँग र साउन ५ गते बंगलादेशसँग खेल्ने तालिका छ।