सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि युरोप क्षेत्रीय छनोटबाट नेदरल्यान्ड्स र इटालीले स्थान सुरक्षित गरेका छन्।
निर्णायक खेलमा नेदरल्यान्ड्सले इटालीलाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गर्यो। रोचक कुरा के छ भने पराजित भए पनि इटालीले रनरेटमा फाइदा उठाउँदै विश्वकपमा आफ्नो टिकट काट्यो। स्कटल्यान्डले जर्सी र इटालीसँग लगातार हार बेहोर्दा छनोटबाट बाहिरिनु पर्यो।
यसअघि अमेरिका क्षेत्रीय छनोटबाट आयोजक क्यानडाले पनि विश्वकपमा स्थान सुरक्षित गरिसकेको छ।
अझै पाँच स्थान खुला टी-२० विश्वकप २०२६ का लागि एसिया र इस्ट एसिया प्यासिफिकबाट तीन टिम, अफ्रिकाबाट दुई टिम र अमेरिकाबाट एक टिम छनोट हुने प्रावधान छ। यसअनुसार एसिया र अफ्रिकाबाट पाँच स्थान खुला छन्। अफ्रिकी छनोट सेप्टेम्बरमा जिम्बावेमा हुँदैछ भने एसिया छनोट अक्टोबरमा ओमानमा हुनेछ।
नेपाल पनि एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्दैछ। नौ टिम सहभागी छनोटबाट शीर्ष तीन टिम विश्वकप खेल्नेछन्। नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्ने तालिका छ। समूहका शीर्ष दुई टिम सुपर सिक्समा पुग्नेछन्, जहाँ शीर्ष तीन टिम विश्वकपका लागि छनोट हुनेछन्।
अहिलेसम्म १५ टिम पक्का हालसम्म सन् २०२६ को टी-२० विश्वकपका लागि १५ टिम पक्का भइसकेका छन्। आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका, वेस्ट इन्डिज, आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान सिधा छनोट भएका हुन्। यीमध्ये अधिकांशले टी-२० विश्वकप २०२४ को सुपर–८ पुगेर स्थान सुरक्षित गरेका हुन्।
नेपालको तयारी योजनाः अस्ट्रेलिया र युएई भ्रमण नेपालले छनोटको तयारी तीव्र पारेको छ। वैशाखमा हङकङमा सिरिज खेलेको नेपाली टोलीले हालै स्कटल्यान्डमा पनि टी-२० सिरिज खेलेको थियो। अब सेप्टेम्बरमा अस्ट्रेलिया भ्रमण गर्ने तयारी छ, जहाँ पाकिस्तान र बंगलादेशको ए टिम तथा बिग ब्यास खेलाडीहरूसँग अभ्यास खेल हुनेछ।
त्यसपछि नेपाली टिम युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दै छनोटका लागि ओमान जाने तालिका छ।