साफ यू–२० महिला च्याम्पियनसिप

भुटानविरुद्द नेपाल ६–१ ले विजयी

शुक्रबार, असार २७, २०८२

काठमाडौँःसाफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।

बंगलादेशको ढाकामा आज भएको खेलमा भुटानविरुद्ध ६–१ को फराकिलो जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो । 

नेपालको जितमा स्ट्राइकर पूर्णिमा राई चम्किइन्। उनले ह्याट्रिकसहित चार गोल गर्दै टोलीलाई सानदार जित दिलाइन्। पूर्णिमाले १८औं, ६२औं, ८४औं र ८८औं मिनेटमा गोल गरिन्।

नेपालका लागि सेनु परियारले नवौं र पहिलो हाफको इन्जुरी टाइममा गरी दुई गोल गरिन्। वर्षा ओलीको क्रसमा पूर्णिमाले पहिलो गोल गरेकी थिइन् भने सेनुको उत्कृष्ट पासमा दोस्रो गोल अफसाइडको कारण रद्द गरिएको थियो।

दोस्रो हाफको ५४औं मिनेटमा भुटानले एकमात्र गोल फर्कायो। केल्डेन वाङ्मोले नेपालका डिफेन्डरहरूबाट क्लियर गर्न नसकेको बलमा अवसर उपयोग गर्दै गोल गरिन्।

खेलमा अमिषा राईले यु–२० टोलीका लागि डेब्यु गरिन् भने मिना देउबाले पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै योगदान पुर्‍याइन्।

नेपालले प्रतियोगिताको दोस्रो खेल घरेलु टोली बंगलादेशविरुद्ध खेल्नेछ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्