T10 T10

नेपालका तीन खेलाडीलाई भारतमा प्रशिक्षण

शुक्रबार, असार २७, २०८२
Global

काठमाडौं:नेपाली यू–१९ क्रिकेट टोलीका तीन खेलाडी — नरेन भट्ट, साहिल पटेल र पूजा महतो — भारतमा एक महिने विशेष क्रिकेट प्रशिक्षणमा सहभागी हुने भएका छन्।

नेपालस्थित भारतीय राजदूतावासले ‘नेपाली युवाका लागि राजदूत क्रिकेट फेलोशिप’काे घोषणा गर्दै उनीहरूलाई भोपालको एलबी शास्त्री क्रिकेट शालामा तालिममा पठाउने तयारी गरेको हो।

गत जुनमा सार्वजनिक गरिएको यो फेलोशिपले नेपाली युवा क्रिकेट प्रतिभालाई अझ निखार्ने उद्देश्य राखेको छ। कार्यक्रमअन्तर्गत आगामी १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म प्रशिक्षण सञ्चालन हुनेछ।

प्रशिक्षणमा जानुअघि आज भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले तीनै खेलाडीलाई भेटेर सफलताको शुभकामना दिएका छन्। भेटमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि सहभागी थिए।

राजदूत श्रीवास्तवले क्रिकेटजस्तो साझा खेलमार्फत नेपाल र भारतबीचको जनस्तरीय सम्बन्धलाई अझै प्रगाढ बनाउन खेल कूटनीतिले महत्वपूर्ण भूमिका खेल्ने बताए। राजदूतावासले यो पहलले नेपाली खेलाडीको सीप वृद्धि मात्र नभई दुई देशबीचको सहकार्यलाई पनि सुदृढ बनाउने अपेक्षा राखेको छ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्