Dosa Dosa
साफ यु-२० महिला च्याम्पियनसिप

नेपालले आज भुटानसंग खेल्दै

शुक्रबार, असार २७, २०८२

काठमाडौं :दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० महिला च्याम्पियनसिप २०२५ को सुरुआत शुक्रबार बंगलादेशको राजधानी ढाकामा हुँदैछ ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा भुटानको सामना गर्नेछ । बसुन्धारा किङ्स एरिनामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरू हुनेछ ।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपाली टोलीलाई मिडफिल्डर बिर्सना चौधरीले कप्तानी गर्नेछिन् । सहायक प्रशिक्षक सन्देश कुमार श्रेष्ठ र किरणकुमार कार्की रहेका छन् भने गोलकिपर प्रशिक्षक मिनबहादुर बस्नेत र टिम म्यानेजर इन्दु दुवाल छन् ।

नेपाल र भुटानबीचको खेलअघि उद्घाटन खेलमा आयोजक बंगलादेशले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल दिउँसो २ः४५ बजे हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान गरी जम्मा चार टोलीको सहभागिता रहेको छ ।

डबल राउन्ड रोविन पद्धतिमा खेलाइने प्रतियोगितामा सबै टोलीहरूले एक-अर्कासँग दुईपटक खेल्नेछन् र अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

भुटानसँगको खेलपछि नेपालले जुलाई १३ मा बंगलादेश, जुलाई १५ र १७ मा श्रीलंकासँग र त्यसपछि जुलाई १९ मा पुनः भुटान र २१ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

यसअघि भएका तीन संस्करणमा नेपालले उपाधि जित्न नसकेकोमा यसपटक इतिहास रच्ने लक्ष्यका साथ नेपाली टोली ढाकामा छ ।

नेपाली टोलीको खेलाडी सूची
बिर्सना चौधरी (कप्तान), लिला जोशी, करुणा बुढाथोकी, अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, कुसुम खतिवडा, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, समीक्षा मगर, सरिता कुमारी नाथ, सेमिहाङ्मा लिम्बु, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्